Logo

महाराजगञ्जमा पारस शाहद्वारा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार !

पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाई आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको सिंहले जानकारी दिएका छन् ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीं बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।

 

 

तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ । एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त । कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहीबेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ ।

‘पछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठायौं’ एसएसपी सिंहले भने । पटपटक विवादमा पूर्वयुवराज शाह पटकपटक उच्छृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् । २८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो । प्रहरीले उनको गाडीलाई थापाथलीमा रोकेको थियो ।

 

 

तर रिसमा उनले थापाथलीमा कार्यरत १ महिला प्रहरी जवानलाई हान्ने गरी गाडी हुइँक्याएका थिए । संयोगले उनी जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन्, जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेको थिइन् । २०७१ सालमा उनी थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए । चारपटकसम्म लागूऔषधसहित पक्राउ परेका उनी पछिल्लो समय नेपालमै थिए । विशेष गरी उनी पोखरामा देखिन्थे ।

दुई वर्षअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ प्रहरीलाई धकेलेको भिडियो पनि भाइरल भएको थियो । कुनै वेला चितवनमा उनले रुबेल चौधरीमाथि पनि गोली चलाएका थिए । दरबारमार्गमा २२ साउन २०५७ मा पारसले चलाएको गाडीले ठक्कर दिंदा गायक प्रवीण गुरुङको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार गुरुङलाई हानेर उनको गाडी सीधै निर्मलनिवास छिरेको थियो । पछि दरबारले नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर राजतन्त्र हटेको लामो समय भइसक्दा पनि उनको उदण्डता उस्तै छ ।

 

प्रतिक्रिया दिनुहोस्