Logo

‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनको बिजेता किरणले गजमेरले २५ लाखबाट आफ्नी आमाका लागि १ हजार रुपैयाँ दिने अरु सबै समाज सेवामा खर्चिने (हेर्नुहोस भिडियो सहित )

नबराज गिरी । नेपालको नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन शनिबार सम्पन्न भएको छ । किरण गजमेरलाई देशको नयाँ भ्वाइसको रुपमा चयन गर्दै रियालिटी शोको तेश्रो श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको हो । कोच प्रमोद खरेलको टिमबाट किरणले यो टाइटल जिते । साथमा उनले २५ लाख र ट्रफी समेत पाएका छन् ।

ट्रफी जितेपछि भावूक बनेका किरणले आफ्नो सपना पुरा भएको प्रतिक्रिया दिए । मिडिया कुराकानीमा उनले भने–‘हामी देश खोज्दै हिडिरहेका नागरिक हौं । हामी हाम्रो रोजाइले भन्दा पनि वाध्यताले विकसित राष्ट्रमा पुगेका हौं । तर, मेरो पनि खुशी थिएनँ । आफ्नो देश, भाषा, पोशाक विर्सन सकिदैन । मेरा गुमेका आफन्तहरुसँग नजिक हुने चाहना थियो । आज मैले मेरो गुमेको परिवार पाएको छु ।’

किरण भुटानी शरणार्थीको रुपमा करिब १४ बर्ष ‘भुटानी शरणार्थी शिविर’ बेलडागी मा बसे । नेपालको नागरिकता लिने उनको सपना पुरा हुन सकेन । भलै, उनीसँग आज अमेरिकाको नागरिकता छ । किरणले भावूक हुँदै भने–‘भ्वाइस अफ नेपालको ट्रफी मेरो लागि नागरिकता पाए जस्तै नै हो ।’

उनले आफूले अब आउने पुस्तालाई प्रभावित पार्न चाहेको पनि बताए । किरणले यो शो जितेसँगै २५ लाख पुरस्कार पनि पाएका छन् । उनले, यो रकम नेपालमै दुइ ओटा एमबुलेन्स किन्नेकामका लागि खर्च गर्ने बताए । भने–‘म पनि हिजो खुट्टामा चप्पल नलगाई कैयौं संघर्षका पाइलाहरु हिडेको छु । आज मेरो जीवन शरणार्थी जीवन भन्दा केही माथि उठेको होला । तर, अमेरिकामा धनाढ्य जीवन बाँचेको छैन । मेरो बाबु–आमाले आज पनि सामान्य जागिर खाएर हामीलाई पालिरहनुभएको छ ।

आज पनि भुटानी शरणार्थी शिविरमा एम्बुलेन्स नपाएर कैयौं मानिसहरुले अकालमै ज्यान गुमाउनुभएको छ । मेरो हजुरआमाको पनि एम्बुलेन्स समयमा नआएर शिविरमै निधन भएको हो । यसैले, शरणार्थी शिविरमा एउटा एम्बुलेन्स खरिद गर्नेछु । साथै, नेपालको पश्चिममा आवश्यक पर्ने कुनै एक स्थानका लागि पनि एम्बुलेन्स खरिद गर्नेछु ।’

किरणले २५ लाखबाट आफ्नी आमाका लागि १ हजार रुपैयाँ दिने पनि बताए । यस्तै उनले, कोभिड भ्याक्सिन लगाउन नपाएका वृद्धाहरुका लागि भ्याक्सिन उपलब्ध गराउन केही रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

लाइभ राउन्डमा किरण गजमेरसँगै कोच प्रमोदबाट रवि गहतराज पुगेका थिए । रविलाई पछि पार्दै किरण अन्तिम चारमा उक्लिएका हुन् । तर, किरणले भने यो जितको हकदार रवि पनि भएको बताएका छन् । मिडियासँग उनले भने–‘लाइभ राउन्डमा रवि र म ५०–५० थियौं । आज हामी दुइले नै जितेका हौं । आमालाई ‘द भ्वाइस अफ नेपाल’को ट्रफी दिने रविको सपना थियो । आज म रविको आमाले कान्छा छोराको रुपमा किरण पाउनुभएको छ । मेरो जित नै रविको हो र रविको जित नै मेरो हो । म सिक्किम पुगेर आमालाई भेट्छु । आशा छ, उहाँले मलाई कान्छा छोराको रुपमा स्विकार गरिदिनुहुन्छ ।’

किरणले आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरुले माया गरेर भोट दिएको र ठूलो जिम्मेवारी थपिएको बताए । उनले भने–‘अब म नेपाली संगीतको लागि के दिन सक्छु भनेर लाग्नेछु । नेपाली संगीतलाई धनी बनाउने मेरो सपना छ ।

 

प्रतिक्रिया दिनुहोस्