Logo

युनाइटेडको डेभ्यु खेलमा रोनाल्डोको गोल

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दोस्रो डेब्युको पहिलो हाफमा नै गोल गर्न सफल भएका छन् ।

न्युकासल युनाइटेडविरुद्ध घरेलु मैदान ओल्ड ट्राफर्डमा जारी खेलको पहिलो हाफमा रोनाल्डोको गोलको मदतले युनाइटेड १-० ले अघि बढेको छ । रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन् । मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोलाई शनिबारको खेलमा आक्रमणको जिम्मेवारी सुम्पिएका छन् । रोनाल्डोसँगै युनाइटेडको आक्रमणमा यसै सिजन आबद्ध भएका जेडन सान्चो र मेसन ग्रीनवुड रहेका छन् । उनीहरुलाई मिडफिल्डर ब्रुनो फर्नान्डेस, पल पोग्बा र नेमान्जा माटिचले साथ दिने छन् । डिफेन्समा आरोन वान बिसाका, राफैल भारान, ह्यारी मगाएर र लुक शा रहेका छन् । गोलरक्षक डेविड दे हेयाले आफ्नो स्थान नियमित राखेका छन् ।

गत साता मात्र रोनाल्डोले विश्व कप छनोटमा पोर्चुगलका लागि २ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । गणतन्त्र आयरल्यान्डविरुद्ध २–१ को जितमा रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेका थिए । गोलको खुसीयाली मनाउने क्रममा जर्सी फुकालेपछि उनले पहेलो कार्ड पाएका थिए । त्यसअघिको खेलमा पनि पहेलो कार्ड पाएका कारण उनले पोर्चुगलको अर्को खेलमा प्रतिबन्ध बेहोर्नुपरेको थियो । प्रतिबन्धमा रहेका कारण उनलाई टोलीले फुकुवा गरेको थियो ।

त्यस पछि उनी युनाइटेडको प्रशिक्षणमा सामेल हुन इंग्ल्यान्ड् फर्केका थिए । ५ दिनको क्वारेन्टिनपछि उनी मंगलबार टोलीको प्रशिक्षणमा सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्