Logo

नेपालको अमेरिकामाथि शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी, विक्रम सोबले २-२ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए । सुशन भारीले १० ओभरमा ३१ रन मात्र खर्चेका थिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चिए । कुशल मल्लले पनि पूरै स्पेल बलिङ गर्दा १० ओभरमा ४५ रन खर्चिए ।

अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्