Logo

पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड बढी बैंक मौज्दात

देशकै प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड रुपैयाँ बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समिति (सरकारीद्धारा गठित) मा चालू आव २०७८ को असारमसान्तसम्म ३ करोड २७ लाख ३० हजार ७ सय ५८ रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संबद्र्धन समिति (समुदायस्तरमा गठित) मा ३ करोड ३३ लाख ३५ हजार २ सय ७ रुपैयाँ छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कुल ८ करोड संकलित रकम बैंक मौज्दात छ ।

बैंक मौज्दात रकम तीर्थयात्रीले चढाएको सिक्का पैसा र गरगहनाबाहेक नगद मात्रको विवरण हो । यसैबीच पाथीभरा क्षेत्र विकास समितिले दिएको जानकारीअनुसार चालू आव २०७८-७९ अन्तर्गत साउनदेखि कार्तिक १५ गतेसम्म संकलन भएको ३८ लाख १२ हजार ५ सय नगद र सिक्का सटहीबाट ८ लाख ६६ हजार रुपैयाँ पनि बैंकमा जम्मा गरेको छ ।

विगत वर्षदेखि नै संकलन भएको भेटीघाटी तथा सुनचाँदी बिक्री गरेर बैंकमा राखिएको रकममा वर्षेनी संकलन गरेको भेटीघाटी राख्ने गरेकाले वर्षेनी बैंक मौज्दात रकम थपिदै गएको हो । यसैगरी २०७७ भदौ १८ गतेसम्म भक्तजनले चढाएको रिफाइन नगरेको १४ तोला ५७ लाल सुन र २ नम्बरको १४ तोला ४६ लाल सुन लिलाम विक्री गरेर बैंक जम्मा गरेको छ ।

उक्त सुन लिलाम विक्री गरेवापत ५७ लाख ७४ हजार ६ सय रुपैयाँ संकलन भएको हो । सुनको तयारी गहना ३ तोला ८७ लाल र चाँदी २४ सय ९४ तोला ८९ लाल बिक्री गर्न बाँकी छ ।आव २०७३÷७४ देखि मात्र सरकारद्वारा गठित पाथीभरा क्षेत्र विकास समितिले भेटीघाटी संकलन तथा परिचालन सुरु गरेको हो ।

आव २०७३÷७४ अगाडी समुदाय स्तरमा गठित समितिले भेटीघाटी संकलन, परिचालन तथा पाथीभरा क्षेत्रका विकासमा काम गर्ने गर्दै आएको थियो । समुदाय स्तरमा गठित समितिको स्थापना २०४७ भई जिल्ला प्रशासन कार्यालयमा दर्ता भए तापनि २०४४ सालदेखि नै पाथीभराको विकासमा काम सुरु गरेको थियो ।

समुदायस्तरबाट गठित समिति र सरकारद्धारा गठित समितिले पाथीभराको काममा तालमेल गर्ने गरेको छ । सुकेटारदेखि काफ्ले पार्टीसम्मका कच्ची सडक ममर्त, काफ्ले पार्टीदेखि धामसम्मको पैदलमार्ग स्तरोन्नती तथा सरसफाइका काम समुदायस्तरबाट गठित समितिले गर्ने गरेको छ ।

आव २०७३-७४ अगाडी भेटीघाटीबाट बचत भएको र हाल पाथीभराको विशिष्ट र आजीवन सदस्य लिनेबाट प्राप्त भएको रकमबाहेक समितिको कुनै पनि आम्दानीको शीर्षक छैन । पाथीभरा देवि मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति अध्यक्ष तारानाथ घिमिरेका अनुसार दाताले कहिलेकाही संरचना निर्माण गर्न भनेर नगद दिने गरेका छन् ।

अध्यक्ष घिमिरेले भने, “दुईवटा समितिबिच तालमेल नभएको हल्ला साँचो होइन् । एकअर्काबीच समन्वय गरेर पाथीभराको हितमा काम गर्छौं ।”पाथीभराको आन्तरिक आम्दानीले पाथीभरामा खानेपानी पानी आयोजनाका लागि ४१ लाख रुपैयाँसमेत लगानी गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

तीबाहेक करारमा नियुक्त १६ जना कर्मचारी तलब, प्रहरी चौ’कीमा कार्यरत प्रहरीका लागि खाजा खर्च र विविध शीर्षकमा खर्च हुने गरेको छ । गतवर्ष पाथीभरा क्षेत्रमा आगलागी हुँदा आगो निभाउन तथा यातायातका लागि पनि खर्च भएको कार्यकारी निर्देशक काफ्लेले बताए ।

वार्षिक साढे ३ लाख बढी तीर्थयात्रीले पाथीभराको दर्शन गर्ने गरेको तथ्यांक छ । अस्थायी प्रहरी चौकी माथिल्लो फेदिमा दर्शन गर्न आउनेको तथ्यांक संकलन गर्ने गरिएको छ । असोज कार्तिक र चैत वैशाखमा अत्यधिक भक्तजन दर्शनका लागि आउने भएकाले उक्त समयमा व्यवस्थापन गर्न कठिन हुन्छ ।

२०७६ साल चैतदेखि को’रोना संक्रमणका कारण यो अवधिमा पटक–पटक मन्दिर दर्शन प्र’तिबन्ध गरेकाले भेटीघाटी कम संकलन भएको हो । कोरोना संक्रमण नभएको हुँदो हो त पाथीभरा बर्सेनि वढ्दो दर्शनार्थीका कारण भेटीघाटी संकलनमा वृद्धि हुनेमा शंका छैन् ।

चालु आव २०७८-७९ मा संकलन हुने नगद, सिक्का र गरगहना आउँदो २०७९ सालको साउन वा भदौमा सार्वजनिक गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्