Logo

प्रदेश एकमा आजबाट थप कडाई : अन्यत्रबाट मानिस र सवारी भित्रिन नदिइने

इनरुवा, २८ चैत । कोरोना भाइरसको संक्रमण र जोखिम रोक्न प्रदेश नम्बर एकमा आजबाट थप कडाई गरिएको छ । आजबाट प्रदेश नम्बर एकमा अन्य प्रदेशबाट कोही आउन पाउने छैनन् ।

बाहिरबाट आउने सवारीका साधनसंगै सर्वसाधारण समेतले प्रवेश पाउने छैनन् ।
भारतसँग जोडिएका सीमा नाका बन्द गर्नुका साथै थप सुरक्षाकर्मी सहित पोष्ट थप गरिसकेको प्रदेशले आजबाट सम्भावित आवागमनलाई मध्यनजर गर्दै १ नम्बर प्रदेशमा थप कडाई गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश २ सहित अन्यत्रबाट हुने आवतजावत रोक्ने निर्णय गरिएको छ । प्रदेश प्रहरीले प्रेस नोट जारी गर्दै यस बारे जानकारी गराएको छ ।

जारी प्रेस नोटका अनुसार प्रदेश २ बाट भित्रिने प्रमुख नाका सुनसरीको कोशी ब्यारेजमा थप कडाई थालिएको छ । त्यसैगरी सुनसरीको चतरा पुल र उदयपुरको रामपुर ठोक्सिलामा समेत प्रहरीले चेकपोष्ट खडा गरेको जनाइएको छ । प्रदेश प्रहरीका अनुसार २४ घण्टे ड्युटी खटाइएको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार प्रदेशसंग जोडिएका सीमावर्ती क्षेत्रमा बोर्डर लक गरिसकिएको छ । तिम्सिनाका अनुसार सीमामा अस्थायी पोष्टहरु समेत थपिएको जनाइएको छ ।

थप भएका पोष्टहरु मध्ये झापामा थए गरिएका पोष्टमा १ सय ३५ जना सुरक्षाकर्मी थपिएका छन् । त्यसैगरी सुनसरीमा १ सय १२ र मोरङमा ८० जना जनशक्ति थप गरिएको प्रदेश प्रहरी कार्यालयले विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्