Logo

नेपाली युवा स्टार सन्दीप लामिछाने ब्याटिङ-बलिङ दुवैमा चम्किएको खेलमा वेस्टइन्डिजसँग विश्व–११ ७२ रनले पराजित

पाकिस्तानी टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीको कप्तानीमा रहेको विश्व ११ टोली वेष्ट इण्डिजसँग पराजित भएको छ । नेपाली युवा स्टार सन्दीप लामिछानेले ब्याटिङ र बलिङ दुवै मौका पाएको खेलमा विश्व एघार ७२ रनले पराजित भएको हो । बेलायतको लर्ड्स स्टेडियममा भएकोखेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले एभिन लेविसको सर्वाधिक ५८ रनको मद्दतमा पुरै ओभर खेल्दै १९९ रनको गतिलो स्कोर खडा गरे लगत्तै विश्व–११ सुरुबाट नै दबाबमा परेको हो ।

जवाफी व्याटिङमा उत्रेको विश्व ११ टोलीले १६।४ ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो । टी–२० विश्वकप विजेता टोली वेस्टइन्डिजका ओपनर लेविसले अफगानी खेलाडी रसिद खानबाट आउट हुनुअघि २६ बलमा ५८ रन बनाएका थिए । उनले ५ चौका र ५ छक्का पनि हाने ।

त्यसैगरी वेस्टइन्डिजका लागि दिनेश रामदिनले ४४ र स्यामुएल्सले ४३ रनको योगदान दिए । आन्द्रे रसेलले २१ र क्रिस गेलले १८ रन बनाए । विश्व ११ का लागि रसिद खानले ४ ओभर बलिङ गर्दै २ विकेट लिए । गएको वर्ष वेष्ट इण्डिजमा आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन इंग्ल्याण्डको लड्र्समा खेल आयोजना भएको थियो । यो खेलका लागि विश्व क्रिकेटमा प्रभाव जमाएका भेट्रान तथा युवा खेलाडीलाई सम्मेलित गरी टिम बनाइएको थियो ।

जुन टिममा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने पनि परेका थिए । १३औं ओभर बलिङ गर्दा सन्दीपको अगाडि दिनेश रामदिन र मर्लुन सामुयल्स थिए । पहिलो तीन बलमा एक एक रन खर्चिएका सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरेका थिए । उनले पाँचौं बलमा तीन रन खर्चिए भने छैटौं बल डट फाले । उनले कुल १२ रन दिएका थिए । सन्दीप लामिछानेले अविजित ४ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्