Logo

गोल्डेन डन ‘गोरे’ र एसएसपी खत्री एउटै जेलमा, भेटघाट र बोलचालको व्यवस्था कसरी मिलाइएको छ ?

करीब ३८ क्विन्ट सुन तस्करी र सनम साक्यको हत्याको आरोपमा थुनामा रहेका मुख्य आरोपी मध्ये चुडामणी उप्रेती गोरे र नेपाल प्रहरीका एसएसपी श्याम खत्रि अहिले एउटै जेलमा रहेका छन् । उनिहरु मोरङमा रहेको कारागारमा छन् । कारागार प्रशासनका अनुसार एसएसपी खत्री माथिल्लो तलामा छन् भने गोरे तल्लो तलामा रहेका छन् ।

गोरे र खत्री एउटै कारागारमा रहेपनि उनीहरुको देखभेट र बोलचालमा पूर्ण बन्देज लगाईएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेलाई जेठ १३ र एसएसपी खत्रीलाई जेठ १७ मा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

दुबैलाई एउटै कारागारमा राखिएपछि सुरुक्षा व्यस्था थप मजवुद बनाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उनीहरुले जिल्ला अदालत मोरङमा एक अर्काविरुद्ध बयान दिएका थिए । एसएसपी खत्रीले इजलासमै आफुलाई गोरेसँगै नराख्न आग्रह समेत गरेका थिए । त्यसैले पनि उनिहरुलाइ एकै ठाउँमा राख्दा असुरक्षा बढ्ने भन्दै सुरक्षा व्यवस्था बलियो बनाइएको हो ।

कारागार सुरक्षा गरिरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी सचेत रहेको कारागार प्रशासनको भनाइ छ । गोरेलाई उनका आफन्त भेट्न आउँदा खत्रीलाई थुनुवा कक्षमा र खत्रीका आफन्त भेटन आउँदा गोरेलाई थुनुवा कक्षमा राखेर भेटघाटको प्रवन्ध मिलाएको कारागार प्रशासनले जनाएको छ ।

यसैबीच मोरङ कारागारमा रहेका करीब ३८ क्विन्ट सुन तस्करीका मुख्य योजनाकार एसएसपी श्याम खत्री सुनसरीको झुम्का कारागार स्थानान्तरण गर्ने तयारी भएको छ । उनले जेल स्थानान्तरणको माग गर्दै निवेदन दिएपछि कारागार प्रशासनले यस्तो तयारी गरेको हो । स्रोतका अनुसार सोमबारसम्म खत्रीलाई मोरङबाट सुनसरीको झुम्का कारागारमा स्थानान्तरण गरिनेछ ।

मोरङ कारागारका प्रमुख उपसचिव शंकर पौडेलका अनुसार सुन तस्करी र सनम हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) र खत्रीलाई एउटै कारागारमा राख्दा सुरक्षा चुनौती बढी हुने भएकाले समेत स्थानान्तरणको तयारी भईरहेको हो ।

करीब ३८ क्विन्ट सुन तस्करीको आरोपमा प्रहरी थुनामा रहेका एसएसपी श्याम खत्रीले जेल स्थानान्तरणको माग गरेका हुन् । सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका उनले जेल स्थानान्तरणको माग गरेका थिए ।उनको निवेदन उपर सबै कारवाही पुरा भएको छ । सुन तस्करी प्रकरणका अन्य आरोपी समेत पूर्पक्षका लागि सोही कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्