Logo

सन्दिप लामिछाने क्यानेडियन लिग पनि खेल्ने, ४० हजार डलर पारिश्रमिक पाउने

नेपाली क्रिकेटर सन्दिप लामिछाने क्यानेडियन लिग पनि खेल्ने भएका छन् । इण्डियन प्रिमियर लिग आईपीएलमा गज्जबको प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्ध भएका छन् ।

लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले फेरि एकपटक विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश फेरि एकपटक दिएका छन् । क्लबले उनलाई बोलकबोलको छैटौं चरणमा अनुबन्ध गरेपनि उनले कति पारिश्रमिक पाउने भन्ने कुरा आधिकारिक रुपमा बताइएको छैन ।

यो प्रतियोगिताका लागि बोलकबोलमा खेलाडी कुन चरणमा क्लबले लियो भन्ने आधारमा पारिश्रमिक तय हुने ब्यवस्था छ । पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौ चरणमा क्लबले लिएको हो । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ । सन्दीप आइपीएलमा २० लाख भारु र क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्