Logo

चरेशको गिरोह समात्न कुनैबेला आफू ७ केजी चरेश बेच्न गएको प्रसंग सुनाउँदै रमेश खरेलले ३३ किलो सुनकाण्डको बारेमा मुख खोले

३३ केजी सुन तस्करी र त्यहीसँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयबाट भएको छानविनको निचोडले नेपाल प्रहरीको अपराध अनुसन्धान प्रणाली नै मर्ने खतरा देखापरेको चिन्ता पूर्व प्रहरी अधिकृतहरुले व्यक्त गरेका छन्।

राजधानीमा प्रमुख सञ्चार माध्यमका सम्पादकहरुमाझ् २० जेठमा उपस्थित पूर्व प्रहरी अधिकृतहरुले प्रहरीको अपराध अनुसन्धानलाई मर्न नदिन नागरिकले खबरदारी गर्नुपर्ने अवस्था आएको बताए।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीले अपराध अनुसन्धान गर्नेले हात बाँधेर राख्ने परिस्थिति सिर्जना भएको भन्दै अनुसन्धानकर्मीलाई केही ‘प्रिभिलेज’ नदिने हो भने अपराध अनुसन्धानको मुख्य पक्ष जीवित नरहने चिन्ता व्यक्त गरे ।

खासगरी ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्या प्रकरण खोतल्न प्रहरीले गरेको ‘कोभर्ट अपरेशन’लाई नै अभियोग मानेर त्यसमा सहभागी प्रहरी अधिकृतलाई शिकार बनाइएकाले भोलिका दिनमा संगठित अपराधको अनुसन्धान नै हुन नसक्ने परिस्थिति सिर्जना भएको उनको भनाइ छ।

“केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा बस्दा मैले पनि कैयौं अपराधको अनुसन्धान यसैगरी गरेको थिएँ, अहिले लाग्दैछ– म त भाग्यले पो बचेछु”, पूर्वएआइजी भण्डारीले भने, “अपराध अनुसन्धानको रणनीति हुन्छ, नक्कली नोटको ठूलो गिरोह समात्न अनुसन्धानकर्मीले नक्कली नोटकै किनबेच पनि गर्नुपर्ने हुन्छ, त्यसो गरेको भेटिँदा उसलाई नक्कली नोटको कारोबार गरेको भनेर जेल हालिदिने ?”

प्रहरीले अपराध अनुसन्धानका लागि प्रयोग गर्दै आएको ‘टेक्निक’ अनुसार काम गर्दा क्षमतावान प्रहरी अधिकृतहरु जेल जाने अवस्था आउनु दुर्भाग्य भएको टिप्पणी उनले गरे ।

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल ठकुरीले ठूलो जोखिम लिएर अपराध अनुसन्धान गर्ने प्रहरी अधिकृतहरुको नियतमा प्रश्न उठाउन थाल्ने हो भने कसैले पनि जोखिम नलिने अवस्था आउने बताए । उनले भने, “थुप्रै प्रहरी अधिकृतहरु अहिले ह्युमिलियट भएको महशुस गरिरहेका छन्, यो अवस्थाले प्रहरीलाई कहाँ पुर्‍याउला ?”

अर्का पूर्व डीआइजी रमेश खरेलले नेपाल प्रहरीको अनुसन्धान प्रणाली र त्यसलाई जोगाइराखेका अधिकृतहरुको चरित्रलाई जोगाउने कि सिध्याउने भन्ने प्रश्न खडा भएको बताए । चरेशको गिरोह समात्न कुनैबेला आफू ७ केजी चरेश बेच्न गएको प्रसंग सुनाउँदै उनले भने, “यो प्रकरणले नेपाल प्रहरीका क्षमतावान र इमान्दार अनुसन्धानकर्ताहरुको शिर निहुँरिएको छ, यो अबस्था रहिरहने हो भने भोलि अपराध अनुसन्धान नै मर्छ ।”

‘नालायक प्रहरी नेतृत्व’ गृह मन्त्रालयको छानविन समितिले लगाएको अभियोग अनुसार एसएसपी दिवेश लोहनी लगायतका प्रहरी अधिकृतहरु जेल पुग्नुलाई प्रहरीभित्र मात्र होइन, आमरुपमा समेत आश्चर्यका रुपमा हेरिएको छ । अनौठो के छ भने यसबारे प्रहरीको नेतृत्व मौन छ ।

वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मात्र होइन, त्यो प्रकरण हुँदाका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समेत प्रहरी संगठनमा आएको यो संकटबारे मुख खोलेका छैनन् ।

पूर्वडीआइजी खरेलले यो नेतृत्वको नालायकी भएको टिप्पणी गरे । “अहिलेको नेतृत्वले के गरिरहेको छ भन्नेतिर म जान्न, तर यसअघिको नेतृत्वलाई यो प्रकरणका प्रत्येक घटना र एक्सन थाहा थियो”, उनले भने, “त्यो सबै बुझेर पनि त्यसबारे बोल्न नसक्नु त्यसबेलाका आइजीपीको नालायकी हो । यसबाट प्रहरीमा राम्रा अफिसरहरु सिद्धिनेछन् ।”

पूर्व एआइजी भण्डारीले प्रहरी संगठन र नेतृत्व यसबारे बोल्ने हैसियतमा भइदिएको भए आज यो हविगत नै नहुने टिप्पणी गरे ।

“नेतृत्वले आफू मातहतको टिमलाई असिस्ट र आवश्यक पर्दा उसका लागि रेजिस्ट पनि गर्नुपर्छ”, उनले भने, “तर, अत्यावश्यक समयमा रेजिस्ट गर्न खोजेकै देखिएन, क्षमतावान अफिसरहरु जेल जाँदा नबोल्ने पनि नेतृत्व हुन्छ ?”

पूर्व प्रहरी अधिकृतहरुले यो प्रकरणको छानविनका लागि अधिकारसम्पन्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग समेत गरेका छन् ।

–हिमालखबरबाट

प्रतिक्रिया दिनुहोस्