Logo

यसरी भयो डरलाग्दो ज्वालामुखी विष्फोट, जहाँ दुई दर्जन बढीको ज्यान गयो

ल्याटिन अमेरिकाको दक्षिण–पूर्वी क्षेत्र ग्वाटेमालामा भएको ज्वालामुखी विष्फोटमा दुई दर्जनभन्दा बढीको ज्यान गएको छ । ग्वाटेमालामा आज भएको ज्वालामुखी विष्फोटमा दुई दर्जनभन्दा धेरैको ज्यान गएको हो ।

त्यहाँका धेरै नागरिकहरु घरभित्रै मृत भेटिएका छन् । धेरै नागरिकहरु घाइते भएको र धेरै हराइरहेको बीबीसीले जनाएको छ । राष्ट्रपति जिम्मी मोरालेसले तीन दिन शोकको घोषणा गर्नुभएको छ ।

फ्यूगो नाम दिइएको त्यो ज्वालामुखी ल्याटिन अमेरिकामा पटक–पटक विष्फोट भइरहेको छ । सन् १९७४ मा त्यहाँ सबैभन्दा ठूलो विष्फोट भएको बताइएको छ । अर्को विष्फोट गएको फेब्ररीमा भएको थियो ।


तर आइतबार भएको विष्फोट झनै ठूलो भएको बताइएको छ । आइतबारको विष्फोटमा लाभा जमिनबाट ६ किलोमिटरभन्दा माथि पुगेको जनाइएको छ । रातो पग्लिएको चट्टान र ग्यास गाउँसम्म पुगेको र त्यसले घरहरु र बस्तीहरुमा असर गरेको बताइएको छ ।
ग्वाटेमालामा सन् १९०२ मा भएको ज्वालामुखी विष्फोटमा हजार भन्दा धेरैको ज्यान गएको थियो । अहिले भएको विष्फोट त्योभन्दा पछिको सबैभन्दा शक्तिशाली भएको बताइएको छ ।


त्यस क्षेत्रमा सयौं प्रहरी अधिकारी तथा जवान र आकस्मिक उद्धारकर्तालाई पठाइएको जनाइएको छ । उनीहरुले खरानी र लाभाले लत्पतिएका नागरिकहरुको उद्धार गरिरहेको तस्बीरहरु सार्वजनिक भएका छन् ।


ज्वालामुखीबाट निस्केको खरानी शहरहरुमा रहेका विमानस्थलभरि भएपछि प्रहरीहरुले विमानस्थल सफा गरिरहेको तस्बीरहरु देखिएको छ । तिब्र गतिमा निस्केको धुवाको मुस्लो तथा लाभाले गाउँसम्मका घरहरुमा असर पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्