Logo

अब नेपालमा विखण्डनकारी र हिंसा भड्काउनेलाई कारवाही गरिन्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोशिश गरिरहेको तर अटेर गरी अघि बढेमा सरकारले कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैसरकारमा नरहेका पार्टीलाई पनि राष्ट्रको मूल प्रवाहमा ल्याई दिगो शान्ति र राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराइने बताउनुभयो । उहाँले छिमेकी भारत र चीनसँग परिपक्व कूटनीतिक सम्बन्ध राख्दै केही वर्षभित्रै भारतको रक्सौल तथा चीनको केरुङबाट काठमाडौँ जोड्ने रेल्वे र पानीजहाज चलाउने कार्यक्रमलाई दृढताका साथ कार्यान्वयन गरिने बताउनुभयो । उहाँले कार्यकर्तालाई राष्ट्रिय अखण्डताप्रति संवेदनशील हुँदै जनताको घरदैलोमा पुगेर पार्टी संगठनलाई क्रियाशील बनाउन तथा नेतामुखी र गुटबन्दीबाट अलग रहन सल्लाह दिनुभयो ।

भेलामा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र कुमारी मोक्तानले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न केन्द्रीय सरकारबाट बजेट उपलब्ध गराउन प्रधानमन्त्रीसँग माग गर्नुभयो ।

प्रधानमन्त्रीले आजै प्रदेश नं ३ का मुख्यमन्त्री तथा मन्त्री र विभिन्न मन्त्रालयका सचिवसँग आज मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा प्रदेश सरकारले जनताका लागि सुशासन र दिगो विकास दिन आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको कामकारवाही पारदर्शी र निष्पक्षताका साथ सम्पन्न गर्न र आवश्यक ऐनकानून तर्जुमा गरी आगामी आवदेखि सरकारको प्रभावकारिता बढाउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्