Logo

फिफा विश्वकप : अब ९ दिन बाँकी, यस्ता छन् प्रमुख दाबेदारहरु

फिफा विश्वकप सुरु हुन अब ९ दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघि सम्पूर्ण टोलीले अन्तिम २३ खेलाडीको नामावली पनि सार्वजनिक गरिसकेका छन् । विश्वकपका दावेदार मानिएका टोलीहरुले निकै बलियो टोली उतार्ने भएका छन् । सबै टोलीले जर्सी नम्बर ९ आफ्नो टोलीको मुख्य स्ट्राइकरलाई दिने प्रचलन नै छ ।

इंग्ल्यान्डले स्ट्राइकर ह्यारी केनको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा केहि साताअघि नै गरेको थियो । फर्ममा रहेका फरवार्ड केनले विश्वकपमा इंग्ल्यान्डको भविष्य निर्धारण गर्नेछन् । उनकै गोलको भरमा इंग्ल्यान्डले विश्वकप छनोटमा सहज नतिजा आत्मसात गर्दै आएको थियो । लिग फुटबलमा टोटेनहम हट्स्परका लागि उत्कृष्ट प्रदर्शन गरेका केन सोहि फर्मलाई रसियामा निरन्तरता दिने सुरमा हुनेछन् ।

यसैगरी अर्को दावेदार टोली ब्राजिलका युवा फरवार्ड ग्याब्रिएल जेससमा पनि ठुलो दबाब रहनेछ । स्टार फरवार्ड नेयमार पूर्ण रुपमा फिट नभएको अवस्थामा जेससकै प्रदर्शनमा ब्राजिलको आक्रमण टिकेको हुनेछ । मैत्रीपूर्ण खेलमा टोलीको कप्तानी सम्हालेका जेससले जुनसुकै भूमिका पाएपनि त्यसमा खरो उत्रन सक्ने विश्वास रहेको बताउँदै आएका छन् ।

यी दुईबाहेक ९ नम्बरको भूमिका, अर्थात गोल हान्ने स्ट्राइकरको भूमिकामा अर्जेन्टिनाका गोन्जालो हिगुआइन हुनेछन् ।यद्यपी पाउलो डिबाला र सर्जियो अगुएरो पनि सोहि भूमिकाका लागि प्रतिस्पर्ध गर्ने हुनाले हिगुआइनले पाएको अवसर चुकाउनु हुन्न । फ्रान्सका ओलिभिएर् जिरुड, बेल्जियमका रोमेलु लुकाकु, लगायतका खेलाडी पनि गोल गर्ने सूचिको अग्रपंक्तिमा आउने प्रयासमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्