Logo

ब्राजिल विश्वकपका केही रोचक प्रसंग

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आउन अब एक साता मात्रै बाँकी छ । विश्वको सबैभन्दा लोकप्रिय खेल र त्यसको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता रुसमा आयोजना हुँदैछ ।विश्वकपका सबै संस्करण सम्झन लायक हुन्छन् । प्रत्येक संस्करणमा खेलाडी, टिम, फ्यान, प्रशिक्षकलगायत जो यो खेलसँग सम्बन्धित छन्, उनीहरुको क्रियाकलापले यो फुटबल महाकुम्भको स्तर अझ बढाइरहेको छ । त्यसैले त झन् बढी लोकप्रिय बनाइरहेको छ । सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजना गर्यो । विश्वकपको उपाधि जर्मनीले जित्यो । तर उपाधिसँगै प्रतियोगितामा यस्ता धेरै महत्वपूर्ण घटनाहरु भए जुन अनन्तकाल सम्म चर्चाको विषय रहनेछ ।

ब्राजिल विश्वकपका ७ महत्वपूर्ण घटना यहाँ प्रस्तुत छ ।

१. मारियो गोट्जेको गोल

मारियो गोट्जे विश्वकपको खेलका सुरुवाति केही खेलहरुमा पहिलो एघारमा परे पनि उनी धेरैजसो खेलमा बेन्चमा नै बसे ।अर्जेन्टिनाविरुद्धको फाइनलमा क्लोसेको स्थानमा ८८ औं मिनेटमा मैदान प्रवेश गरेका गोट्जेको त्यो गोल जसले जर्मनीलाई सन् १९९० पछि पहिलो पटक विश्वकपको उपाधि जितायो भने गोट्जेलाई सँधै सम्झिने फुटबर समेत बनायो ।

२. ब्राजिलमाथि जर्मनीको गोल ‘अत्याचार’

सेमिफाइनलमा ब्राजिल र जर्मनीबीचको म्याच विश्वकप इतिहासकै अविस्मरणीय तथा अविश्वसनीय म्याच थियो । पाँच पटकको विश्व विजेता ब्राजिल आफ्नै मैदानमा तीन पटकको विश्व विजेता जर्मनीसँग पराजित हुनु ठूलो कुरा होइन । तर जर्मनीले हात पारेको ७–१ को जित विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरको सेमिफाइनल जित हो ।ब्राजिलका लागि सबैभन्दा घातक त्यो १८ मिनेट बन्यो, जसमा उसले ५ गोल खाएको थियो । ११ मिनेटमा पहिलो गोल खाएको ब्राजिलले २३, २४, २६ र २९ मिनेटमा गोल खाँदा ‘बेलो होरिजोन्टे’ स्तब्ध भयो ।

३. क्लोसेको विश्वकप कीर्तिमान

जर्मनीका मिरोस्लाभ क्लोसे ब्राजिल विश्वकपमा ब्राजिलियन रोनाल्डोको कीर्तिमानी गोल संख्याभन्दा एक गोलले पछि थिए । भेट्रान स्टाइकर क्लोसेले घानासँग २–२ गोलको बराबरी नतिजा ल्याउने क्रममा एक गोल गर्दै रोनाल्डोको १५ गोलको कीर्तिमान बराबरी गरे ।ब्राजिलविरुद्धको सेमिफाइनलमा ७–१ को जित हात पार्ने क्रममा क्लोसेले जर्मनीका लागि २३ औं मिनेटमा दोस्रो गोल गर्दै क्लोसेले विश्वकपमा १६ गोलको कीर्तिमान आफ्नो नाममा सारे ।

४. रोबिन भान पर्सीको अविस्मरणीय गोल

रोबिन भान पर्सीले स्पेनविरुद्ध गरेको यो गोल प्रतियोगिताकै सर्वोत्कृष्ट गोल थियो । स्पेनले १ गोलको अग्रता लिएको खेलको ४५ औं मिनेटमा डेले ब्लाइन्डको लामो प्रहारलाई भान पर्सीले उत्कृष्ट हेडर गोल गरेका थिए । उनको त्यो गोल सामाजिक सञ्जालमा ‘नाटकीय’, ‘अविश्वसनीय’ जस्ता प्रतिक्रिया भाइरल भए ।उनलाई ‘फ्लाईङ डचम्यान’को उपमा समेत दिइएको थियो । त्यो खेलमा नेदरल्याण्ड ५–१ ले विजयी हुँदा भान पर्सीले २ गोल गरेका थिए ।

५. टिम हवार्ड र गुइलेर्मो ओचोवाको लोभलाग्दो गोलकिपिङ

गोलकिपरको भूमिका निकै महत्वपूर्ण हुन्छ । अमेरिकी गोलकिपर टिम हवार्डले ब्राजिल विश्वकपमा कीर्तिमान नै कायम गरे ।प्रिक्वार्टरफाइनलमा बेल्जियमविरुद्ध चलेको १२० मिनेट खेलमा हवार्डले १६ उत्कृष्ट बचाउ गर्दै विश्वकपमा इतिहास रच्न सफल भए । तर अतिरिक्त समयमा उनले २ गोल खाएपछि बेल्जियमले खेल २–१ ले जित्यो ।

गोलकिपरको कुरा गर्दा गुइलेर्मो ओचोवाको प्रदर्शन सम्झनलायक थियो । आयोजक ब्राजिलविरुद्धको खेलमा मेक्सिकोका गोलकिपर ओचोवाले उत्कृष्ट प्रदर्शन गरे । चारवटा उत्कृष्ट सेभ गरेको ओचोवा सबै सञ्चारमाध्यमहरुमा हेडलाइन बने । त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

६. कुलिङ ब्रेक

फुटबलको इतिहासमा ब्राजिलमा पहिलो पटक कुलिङ ब्रेकको थालनी गरियो । फिफाले रंगशालामा तापक्रम ३२ डिग्रीभन्दा माथि पुगेपछि दुवै हाफको ३० मिनेटमा कुलिङ ब्रेक राख्न सकिने भनेपछि फोर्टेलेजामा भएको मेक्सिको र नेदरल्याण्ड यो सुविधाको सदुपयोग गरे ।३० औं र ७५ औं मिनेटमा भएको कुलिङ ब्रेकमा खेलाडीले पानी पिउने र तीन मिनेट आराम समेत गर्न पाएका थिए ।

७. थोमस मुलर र जेर्दान शाकिरीको ह्याट्रिक

ब्राजिल विश्वकपमा दुईवटा ह्याट्रिक भएका थिए । थोमस मुलरले पोचुर्गलविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । समूह सीको पहिलो खेलमा नै क्रिष्टियानो रोनाल्डोको टिमलाई स्तब्ध बनाउनका लागि मुलरले १२ औं मिनेटमा पेनाल्टी, पहिलो हाफको इन्ज्युरी समय र ७८ औं मिनेटमा गरी ह्याट्रिक गरेका थिए ।समूह ई अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डका स्ट्राइकर जेर्दान शाकिरीले होन्डुरसविरुद्ध ह्याट्रिक गरेका थिए । उनको ह्याट्रिकमा स्वीट्जरल्याण्डले ३–० को जित हात पारेको थियो ।


प्रतिक्रिया दिनुहोस्