Logo

छोरी जन्मिए आमालाई १० हजार नगद र एक किलो ध्यु, छोरीलाई एक लाख पुरस्कार !

रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन्। मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ।

अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताएका छन्। सामाजिक कुरीतिका रूपमा रहेको बालविवाह, दाइजो प्रथाका कारण छोरीले बीचमै पढाइ छोड्ने अवस्था रहेकाले गाउँपालिकाले यस्तो निर्णय गरेको उनको भनाई छ।

‘छोरी बचाऔँ, छोरी पढाऔँ’ योजनासहित एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष बानियाँले जानकारी दिए। छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको छ।

मधेसी र मुस्लिम समुदायका किशोरी अझै पनि शिक्षाको पहुँचबाट वञ्चित रहेकाले ती समुदायमा स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक ठानेर यस्तो रणनीति अपनाएको अध्यक्ष बानियाँले बताएका छन्।

गाउँपालिकाको पुरस्कार घोषणाको निर्णयप्रति शिक्षाक्षेत्रमा लागेकाहरूले समेत प्रशंसा गरेका छन्। मनराजीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजदेव मौर्यले गाउँपालिकाले स्नातक उत्तीर्ण छोरीका लागि पुरस्कार घोषणा गरेर सराहनीय काम गरेको बताएका छन्।

यसैगरी गैँडहवा गाउँपालिकाले पनि बालिका बीमामार्फत भ्रूणहत्या रोक्न र शिक्षालाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाले छोरी शिक्षालाई प्रोत्साहन गर्न र बालविवाह रोक्न सुकन्या कार्यक्रम अघि बढाएको छ। गोरखापत्र दैनिकमा भैरहवाबाट लक्ष्मण पौडेलले यो समाचार लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्