Logo

कोरोनाभाइरस: चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने घोषणा !

प्रधानमन्त्री ओलीले स‌ङ्घ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्नेअत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने बताए।

उनले सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले नियमित काम गर्ने उल्लेख गरे। नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू चैत्र ९ देखि १८ गतेसम्म स्थगित गरिने ‌प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले सीमा-नाका आवागमन नरोकिने तर स्वास्थ्य जाँचसहित आवागमनको व्यवस्था मिलाइने उल्लेख गरे।

आवागमन
त्यसबाहेक सबै लामो दूरीका यात्रुवाहक बसलाई चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाइने पनि प्रधानमन्त्रीले घोषणा गरे।

उनले मुलुकबाहिर रहेका नेपालीलाई स्वदेश फर्कन सरकारले तत्कालका लागि रोक लगाएको विषयबारे पनि आफ्नो सम्बोधनमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, “कोरोनाभाइरसका कारण फर्कन तपाईँहरूलाई अप्ठेरो परेको मेरो जानकारीमा छ। हाम्रो कूटनीतिक नियोगमा सम्पर्क राख्न म अनुरोध गर्छु र हाम्रो नियोगले तपाईँको समस्या हल गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु।”काठमाण्डूबाट बाहिरिँदै गरेका यात्रुलाई विज्ञहरूको यस्तो छ सुझाव

प्रधानमन्त्रीले कोरोनाभाइरससँग जुझ्न हालै भारतको अग्रसरतामा सार्क देशका नेताहरूको भिडिओ कन्फ्रेन्सपछि घोषणा गरिएको कोषमा नेपालले १० करोड रुपैयाँ योगदान दिने उल्लेख गरे। दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलो पटक यसै साता सार्क देशहरूका सरकारप्रमुखहरूसँग कोभिड-१९ को चुनौतीबारे भिडिओ कन्फ्रेन्समा सहभागी भएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रवार साँझ राष्ट्रका नाममा सरकारी सञ्चारमाध्यममार्फत्‌ सम्बोधन गर्दै उनले कोरोनाभाइरस विरुद्धको लडाइँमा सबैलाई एकताबद्ध भएर उभिन आह्वान समेत गरे।

प्रतिक्रिया दिनुहोस्