Logo

टेकुबाट कोरोना शंकास्पद बिरामी आफूखुसी निस्किएपछि सुरक्षाकर्मीको माग !

टेकु अस्पतालबाट कोरोनाभाइरसको आशंका गरिएका बिमारी आफूखुसी निस्किन थालेपछि अस्पतालले सुरक्षाकर्मीको आवश्यकता औंलाएको छ। शुक्रबारमात्र अस्पतालबाट कोरोनाको आशंका गरिएका एक ब्रिटिस नागरिक आइसियू कक्षबाटै निस्किएर अर्को अस्पताल पुगेका थिए। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उनलाई बस्न आग्रह गर्दा पनि निस्केर गएको बताए।

‘उहाँलाई हामीले बस्न निकै आग्रह गर्यौं तर उहाँले मान्नुभएन। निस्केर जानुभो,’ उनले भने। ती ब्रिटिस नागरिकलाई गत सोमबार आइसियूमा भर्ना गरिएको थियो। त्यही दिन कोरोना परीक्षणको लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

भोलिपल्ट आएको नतिजा नेगेटिभ देखिए पनि निमोनियाको अवस्था खराब रहेको भन्दै अस्पतालले दोस्रोपटक परीक्षण गर्नुपर्छ भन्यो।

‘दोस्रो परीक्षणको नतिजा नेगेटिभ आएको छ। हामीले उहाँलाई आज साँझ डिस्चार्ज गर्ने तयारी थियो तर उहाँ दिउँसै निस्किनुभो,’ निर्देशक भण्डारीले भने।

अहिले ती ब्रिटिस नागरिक टेकु अस्पताल फर्किसकेका छन् र उनी डिस्चार्ज हुँदैछन्।

टेकु अस्पतालबाट आफू खुसी बिरामी निस्केर गएरको यो दोस्रो घटना हो। यसअघि पनि दक्षिण कोरियाबाट आएका एक नेपाली अस्पतालबाट निस्केर आफ्नो घर धरान पुगेका थिए।

यसरी पटक/पटक बिमारी आफूखुसी अस्पतालबाट निस्किएपछि अस्पतालले सुरक्षाकर्मीको आवश्यकता रहेको बताएको छ। ‘सुरक्षाकर्मी राख्नुपर्छ। यस्तो तरिकाले हामीलाई गाह्रो हुन्छ,’ उनले भने।

निर्देशक भण्डारीले बिमारीलाई काउन्सिलिङको पनि व्यवस्था हुनुपर्ने बताए। उनले बिमारीहरू अहिलेको अवस्था देखेर आत्तिने गरेको भन्दै उचित काउन्सिलिङ हुनुपर्ने जोड दिए।

उनले अस्पतालमा रहेको आइसोलेसन बेडहरूलाई पनि व्यवस्थित गर्नुपर्ने जनाए। अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेको भन्दै उनले तत्काल त्यसलाई विस्तार गर्नुपर्ने बताए।

विदेशी बिमारीहरूको सन्दर्भमा खानाको राम्रो व्यवस्था हुनुपर्ने उनको बुझाइ छ।

‘विदेशी नागरिकहरूले सधैं नेपाली दालभात खाएर बस्न सक्दैन। दूतावासले पनि यसमा ध्यान दिनुपर्यो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्