Logo

भोलि लास उठाउनुभन्दा आज लठ्ठी उठाउनु ठीक हो भनेर हानें: उर्लाबारी मेयर (हेर्नुहोस भिडियो सहित )

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको छ।तर कतिपय मानिसले अत्यावश्यक काम परेर त कतिले काम नपरी पनि लकडाउन पालना गरेका छैनन्।सरकारी पास नलिएर चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लक डाउन उल्लंघन गरेको भन्दै सुरक्षाकर्मीले कतिपय ठाउँमा नागरिकलाई लठ्ठी हानेको, उठबस गराएको, मुर्गा बनाएको भिडिओहरू सामाजिक सञ्जालमा चर्चित छन्।

बुधबारदेखि एउटा अर्को भिडिओ पनि भाइरल भइरहेको छ। उक्त भिडिओमा प्रहरीसँगै एक जना जनप्रतिनिधिले साइकल र मोटरसाइकलमा आएकालाई लठ्ठी हानिरहेका छन्। त्यसरी लठ्ठी हान्ने व्यक्ति हुन्- मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो।मेयर फागोले बुधबार प्रहरीसँग मिलेर उर्लाबारीको सडकमा हिँडेका मानिसलाई लाठीले हानेका थिए।मेयरजस्तो मान्छे किन नागरिकलाई लठ्ठीले हानेको? भन्ने सेतोपाटीको प्रश्नमा बिहीबार फागोले भने, ‘मेयर भएकैले हान्नु परेको हो।’

आफू खाद्यान्न, तरकारीलगायत अरूको समस्या भएको छ कि भनेर नगरका विभिन्न ठाउँमा गइरहेको उल्लेख गर्दै उनले त्यही क्रममा रोडमा केही युवाले प्रहरीलाई नटेरेको देखेर लठ्ठी हानेको बताए।‘कोही पछाडि मान्छे बोकेर साइकल/मोटरसाइकल चलाइरहेका छन्, कोही पौडी खेल्न जाने भनेर हिँडेका छन्,’ फागोले भने,‘उनीहरूले प्रहरीले भनेको नमानेपछि मैले लाठी हानेको हुँ।’उनले लक डाउन नमाने इटाली र स्पेनमा जस्तो कोरोनाको महामारी फैलिन सक्ने भएकाले त्रास देखाउन लाठी हानेको तर्क गरे।

‘आज लक डाउन मानेनौं भने हामीले भोलि मान्छेका लास उठाउनु पर्छ। लास उठाउनुभन्दा त बरू आज लठ्ठी उठाउँ भनेर हानेको हुँ,’ उनले भने।फागोले नागरिकलाई सम्झाउने-बुझाउने गरे पनि नमानेपछि लठ्ठी हान्नु परेको जिकिर गरे।नागरिकको अधिकार हुन्छ, थाहा छ तर अधिकार छ भन्दैमा राज्यले नगर भनेको काम गरेर आफूलाई र अरूलाई जोखिममा त पार्न पाइँदैन नि,’ फागोले भने।

हिजो आफूले लाठी हानेर त्रास देखाएपछि आज लक डाउन उल्लंघन गर्नेको संख्या घटेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्