Logo

यसरी बदलिंदै छ, सन् २०५० सम्ममा ‘टप टेन’ अर्थतन्त्रको सूची

अहिले कोरोना भाइरस, ब्रेक्जिट र त्यसअघि नै सुरु भएको व्यापार युद्धले गर्दा विश्वको अर्थतन्त्रलाई नराम्रो धक्का पुगेको छ । यी सबै चुनौतीका बाबजुद आगामी केही दशकमा विश्वको अर्थतन्त्रमा भने निकै तीव्र गतिको बृद्दि हुने प्रक्षेपण गरिएको छ ।

सन् २०५० सम्ममा विश्वको बजारको आकार अहिलेको भन्दा दुई गुणा ठुलो हुने अनुमान गरिँदैछ छ । जबकि संयुक्त राष्ट्रसंघले त्यो बेला विश्वको जनसङ्ख्या भने अहिलेको भन्दा २६ प्रतिशतले मात्र बढ्ने पूर्वानुमान गरेको छ ।
आर्थिक गतिविधिमा हुने यो बृद्दिले धेरै कुरामा परिवर्तन ल्याउने छ । भविष्य कुन रूपमा हाम्रो सामु उभिने छ त्यो ठ्याक्कै भन्न ट गाह्रो छ तथापि एउटा कुरामा भने सबै अर्थशास्त्रीको साझा मत छ । त्यो के भने आजका विकासशील भनिएका मुलुकहरू नै त्यो बेला आर्थिक रूपमा महाशक्ति राष्ट्र हुनेछन् ।

इन्टरनेशनल प्रोफेसनल सर्भिसेज फर्म (पीडब्लुसी)ले तयार परेको ‘दी वर्ल्ड इन २०५०’ नामक रिपोर्टमा उल्लेख भए अनुसार अबको ३० वर्षमा विश्वका सात ठुला अर्थतन्त्र भएका मुलुकहरूको सूचीमा ६ वटा हालका विकासशील राष्ट्रहरू हुनेछन् । त्यो बेला हालको पहिलो ठुलो अर्थतन्त्रको रूपमा रहेको अमेरिका दोस्रो वा तेस्रो स्थानमा हुनेछ । त्यसै गरी जापान चौथोबाट आठौँ स्थानमा पुग्नेछ भने जर्मनी पाँचौँ बाट नवौँमा झर्नेछ।

अहिलेका तुलनात्मक रूपमा कमजोर भनिएका अर्थतन्त्रहरू जस्तै भियतनाम, फिलिपिन्स, नाइजेरियाले ठुलो छ्लांग मार्ने छन् । रिपोर्टमा भनिएको छ- यी मुलुकहरूले अन्यको तुलनामा ठुलो फड्को मार्दै सूचीमा आफूलाई अग्र स्थानमा राख्नेछन् ।

बीबीसीले अब आर्थिक प्रगतिको ठुलो सम्भावना बोकेका पाँच राष्ट्रहरूको रूपमा अगाडी आएका मुलुकका बासिन्दाहरूसँग कुराकानी गरेर समाचार बन्नेको उल्लेख गरेको छ । ती देशका नागरिकहरू त्यो सम्भावनालाई कसरी हेर्दै छन् र देखिएका संकेतहरुले उनीहरूको जीवनमा कस्तो प्रभाव पार्दैछ भनेर सोधेका थिए । प्रस्तुत छ, ती पाँच देशका कुरा :

चीन
सो मुलुकको खरिद क्षमता अर्थात् पर्चेचिंग पावर प्यारीटी (पीपीपी) का आधारमा चीनको जिडिपी हेर्दा अहिले नै चीन संसारको सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश हो । एसियाको यो उदाउँदो मुलुकले विगतका केही दशकमा नै ठुलो आर्थिक प्रगति गरेको छ । अर्थशास्त्रीहरु अहिलेको यो सङ्केत मात्र हो, यसले धेरै प्रगति गर्ने लक्षण छ । अहिले कोरोना बिरुद्दको युद्धमा नै पनि चीनले आफ्नो नयाँ क्षमता देखाइसकेको छ ।

त्यहाँका बासिन्दाहरूले समेत ठुला आर्थिक परिवर्तन हुँदै गरेको आफ्नै आँखा अगाडी देखिरहेका छन् । ‘मेरै घर अगाडी धेरै कुरा भए, सुझो इन्डस्ट्रियल पार्क बन्यो, सहरी मलहरू चम्किरहेका छन् । पार्क, रेष्टुरेन्ट र ट्राफिकहरू बढेका छन् ।’ वान मिनेट चाइनिज नामक पुस्तकका लेखक रोवान कोहिलले थपे, ‘जब म १५ वर्ष अगाडी यहाँ आएको थिएँ यो सबै ठाउँ खेतबारी थियो ।’

वास्तवमा चीनमा केही वर्षको अन्तरालमा धेरै नै उल्लेखनीय परिवर्तन भएका छन् । त्यहाँ व्यापार र अन्य ब्यवाशयका अवसरको खोजीमा आएका धेरै सफल बनेका छन् । अनि धेरै खालका नयाँ उद्योगहरू सुरु भएका छन् ।सांघाईमा व्यापार गर्दै आएका अमेरिकी नागरिक जोन पाबोनले भने अनुसार त्यो सहरमा बिहान सबेरै देखी राती अबेरसम्म मानिसहरू काम मै हुन्छन् । सहर सधैँ व्यस्त देखिन्छ । अमेरिकाको न्युयोर्कमा समेत व्यापार गरेका उनी भन्छन्, “त्यहाँका मानिसहरू घाँटीमा कार्ड झुन्डाएर हिँड्छन् अरूका कुरा सुन्दैनन् तर चीनमा भने मानिसहरू अरूका कुरा सुन्छन् र सल्लाह समेत दिन्छन् ।’

भारत
विश्वको दोस्रो ठुलो जनसङ्ख्या भएको मुलुक भारतले अबको तीन दशकमा गतिलो आर्थिक बृद्दि गर्ने अपेक्षा गरिएको छ । यसले लगातार ५ प्रतिशतको बृद्दिदर कायम राख्ने उल्लेखित रिपोर्टमा लेखिएको छ । सो बेला संसारमा सर्वाधिक रात्रि आर्थिक विकास गर्ने राष्ट्र भारत हुनेछ । त्यो बेला भारत विश्वको दोस्रो ठुलो अर्थतन्त्रका रूपमा रहने छ ।

भारतले विश्वको १५ प्रतिशत जिडिपी त्यो समय होल्ड गरेको हुनेछ । त्यहाँका मानिसहरूले त्यसको अनुभूति अहिले नै गर्न थालिसकेको समेत रिपोर्टले उल्लेख गरेको छ ।

‘बिसौँ शताब्दीको अन्त्य र एक्काइसौँ शताब्दीको सुरुवात देखी नै मैले भारतमा भएका परिवर्तनलाई आफनी आँखाले नियाली रहेको छु ।’ टक ट्राभल नामक एपका सञ्चालक सौरभ जिन्दलले भने, ‘मानिसको जीवनमा समेत यो परिवर्तनले धेरै फरक पारेको छ ।’

ब्राजिल
दक्षिण अमेरिकी पावर हाउसका रूपमा परिचित ब्राजिल सन् २०५० सम्ममा विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बन्नेछ । यसले जापान, जर्मनी र रसियालाई समेत पछि पार्ने छ । तर, त्यहाँ अत्यधिक रूपमा रहेको भ्रष्ट्राचार र बढ्दो मूल्यवृद्धि ठुलो समस्याका रूपमा रहने देखिएको छ ।

मेक्सिको
सन् २०५० सम्ममा मेक्सिको विश्वको सातौँ ठुलो अर्थतन्त्र बन्ने छ । अहिले यो एघारौँ नम्बरमा छ । यसले बढेको उत्पादन र निर्यातमा गरेको बृद्दिले यो सम्भावनालाई बलियो बनाएको छ । मेक्सिकोमा स्वास्थ्य सेवा देखी यातायातको समेत राम्रो व्यवस्था हुँदैछ । ती सेवाहरू अमेरिका, क्यानडा र युरोपको भन्दा सस्तो मूल्यमा मेक्सिकोमा उपलब्ध छ ।

नाइजेरिया
अफ्रिकाको एक ठुलो अर्थतन्त्र भएको मुलुक नाइजेरिया सन् २०५० सम्ममा औषत ४ दशमलव २ प्रतिशत कायम गर्ने अनुमान गरिएको छ । यो दरको बृद्दि कायम राख्दै नाइजेरियाले केहिवर्षमा नै आफूलाई २२ औँ नम्बरबाट ८ अङ्क माथि पुर्‍याउँदै अहिले १४ औँ स्थानमा छ । त्यहाँको सरकार भष्ट्राचारसँग लडिरहेको छ भने आम मानिसहरू विभिन्न प्रकारका उद्यमशीलतामा लागि परेका छन् ।

पीडब्लुसीका अनुसार सन् २०५० सम्ममा विश्वका ‘टप टेन’ अर्थतन्त्र भएका मुलुकहरूको सुची यस्तो हुने छ :
१. चीन २. भारत ३. संयुक्त राज्य अमेरिका ४. इन्डोनेसिया ५. ब्राजिल ६. रसिया ७. मेक्सिको ८. जापान ९. जर्मनी १०. संयुक्त अधिराज्य (बेलायत) -(बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्