सरकारको निर्णय:फेरि जोरबिजोर प्रणाली लागू
सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुने मन्त्रालय स्रोतको भनाइ छ ।
लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।
सरकारको निर्णयपछि पनि व्यवसायीले विभिन्न माग राखेर यातायात सञ्चालनमा गर्न मानेका थिएनन् । विभिन्न चरणको छलफलमा उनीहरुको माग सम्बोधन गर्न सरकार तयार भएपछि साउन ८ देखियातायातका साधन सञ्चालनमा आएका थिए । यद्यपी लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैन ।
यो पनि…
काठमाडौंका ५७ सहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि
सरकारले साउन ९ गतेमध्यरातदेखि लागू हुनेगरी लकडाउन हटाउने निर्णय गरेको थियो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारको भनाइ छ ।
सरकारले लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने सरकारले सञ्चालन अनुमति दिएको छैन ।
यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरिसकेको छ । सेमिनार र भेला भने गर्न भने दिइएको छैन ।
यसैगरी भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको छ । यसैगरी सरकारले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय पूर्ववत् रुपमा सञ्चालन भइसकेका छन् ।
सरकारले लकडाउन खोजेर अवस्थालाई सामान्यीकरण गर्न खोजिरहेकाे बेला संक्रमितको संख्या बढ्न थालेसँगै फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । यस्तै संक्रमण न्यूनीकरणका लागि पुनः लकडाउन गर्नुपर्ने आवाज समेत उठेको छ । मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलमा १५ दिन कडाखालको लकडाउन गर्न सुझाव आएको थियो ।