Logo

स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न पर्सागढी नगरपालिकाका मेयर हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं ल्याइयो

पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सोमबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल लगिएको गिरिराज कँडेल दिपेनले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका थिए ।

शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई अक्सिजन दिएर तराई अस्पतालमा उपचार चलिरहेको थियो । स्वास्थ्य अवस्थामा सुधार पनि आइ नै रहेको अस्पताल स्रोतले जनाएको छ । वीरगञ्जमा कोरोना परीक्षण गराउँदा मेयर यादवको रिपोर्ट नेगेटिभ आएको थियो । तर तराई अस्पतालले भने दुवै फोक्सोमा निमोनियाको संक्रमण देखिनु कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको बताएको छ ।

अस्पतालका मेडिसिन विभाग प्रमुख डा. रोशन कुर्मीका अनुसार मेयर यादवको स्वास्थ्य अवस्था सुधारोन्मुख नै छ । ‘श्वास प्रश्वासमा समस्या, खोकी, खकारमा रगत देखिएर अस्पतालमा शुक्रबार अस्पतालमा भर्ना हुनुभएको हो । सिटी स्क्यान गरेर हेर्दा दुवै फोक्सोमा निमोनियाको संक्रमण थियो । शरीरमा अक्सिजनको पनि कमी थियो,’ उनले भने, ‘आउँदा एकदमै सिरियस अवस्थामा भएपनि हामीले आइसोलेटेड गरेर उपचार गर्‍यौं । निमोनियामा सुधार भइरहेकै थियो । अक्सिजन नलिई बस्न थाल्नुभएको हो ।’

तर पहिलेदेखि नै परिवारका सदस्यले उपचारका लागि काठमाडौं लैजान हेलिकप्टरको बन्दोबस्तीमा लागेका थिए । मेयर यादवको चिनेको डाक्टरसँगको समन्वयमा हेलिकप्टरबाट मेडिसिटीमा लगेको डाक्टर कुर्मीले बताए ।विविध कारणले वीरगञ्जमा दोहोर्‍याएर कोरोना जाँच गर्न नपाएपनि मेयर यादवमा कोरोनासँग मिल्दो जुल्दो लक्षण नै देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्