Logo

अन्तेष्टि गरेपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी


उच्च ज्वरो आएपछि मृत्यु भएका धनुषाका एकजनामा सद्गत गरिएपछि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ ।घरमै रहेका धनुषा ललियाका ५० वर्षीय बिन्देश्वर मण्डललाई उच्च ज्वरो आएपछि आइतबार उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले पुष्टि गरे । ‘मृत्युपछि स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको छ,’ सीडीओ भट्टराईले भने, ‘मृतकको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम समेत शुरू गरिएको छ ।’

मृतकको स्वाब दिएपछि आफन्त र गाउँलेले दाहसंस्कार गरेका थिए । ‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा प्रहरीले मलामीको खोजी गरिरहेको छ । मृतकको सम्पर्कमा आएका व्यक्तिको समेत छिट्टै स्वाब संकलन गरेर परीक्षण गरिने उनले बताए ।

धनुषाका एसपी रमेश बस्नेतले मृतक जनकपुरको विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालका सुरक्षा गार्डमा कार्यरत रहेको जानकारी दिए विदामा घर गएको समयमा उनलाई पखला लाग्ने र ज्वरो आउने भएपछि अस्पताल लगिएको थियो । तर चिकित्सकहरुले अस्पताल ल्याउनु पूर्व नै उनको निधनको बताए । मृत्युपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकले स्वाब संकलन गरेर दाहसंस्कारका लागि घर पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्