Logo

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहालले राजीनामा दिएको माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीले बताए । ‘केही बेर भयो राजीनामा दिएको ,’ अधिकारीले भने ।

माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिब्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्। भरतपुरमा महिला ७९ हजार ९२ र पुरुष ७१ हजार १८१ गरेर कुल मतदाता १ लाख ५० हजार २७४ छन्। भरतपुरको मेयरको मत हेर्दा कांग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो। कांग्रेससहितका पाँच दलीय चुनावी तालमेल गरेपनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्