Logo

निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला अब सरकारले सहजीकरण गर्ने

मंगलबार आगामी आर्थिक वर्षका लागि संसदमा पेस गरिएको नीति तथा कार्यक्रममा चितवनमा निर्माणाधीन गौतमबुद्ध रंगशाला पनि समेटिएको हो।प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने र सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ।

यसअघि गत पुसमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसन पछि हटेको थियो। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको थियो। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरिएको थियो। फाउण्डेसनले संस्थागत निर्णय गरी कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन भनेको थियो। सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ।

फाउण्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई जानकारी दिएको थियो। रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेसनको दाबी छ। रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको फाउण्डेसनले दाबी गरेको थियो। रंगशाला सम्पन्न गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ।रंगशालाको विसं २०७५ माघ १६ गते काठमाडौंमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस्