Logo

बालेन भन्छन् अहिले मतदातालाई धन्यवाद भनाैँ, घाेषणापत्र अनुसार काम गर्न सकेकाे दिन विजय जुलुस मनाउँला…..(भिडियो सहित)

काठमाण्डाै महानगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले आफ्नाे जित पक्का भएसँगै विजय जुलुस नगर्न सबैलाई आग्रह गर्नुभएकाे छ । बालेनले १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी हुँदा उहाँले २० हजार मतकाे अग्रता बनाइसक्नुभएकाे छ । याेसँगै बालेनकाे जित हुने सुनिश्चित भएकाे छ । जित निश्चित भएसँगै बालेनले आफ्नाे चुनावी प्रक्रियामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आ-आफ्नाे ठाउँबाट सबैले धन्यवाद र्‍याली निकाल्ने तर विजय जुलुस नगर्न आग्रह गर्नुभएकाे हाे । यस्तै उहाँले आफूले चुनावी घाेषणापत्रमा उल्लेख भएका काम पूरा गर्न सकेकाे दिन मात्र विजय जुलुस निकाल्न आफ्ना समर्थकलाई आग्रह गर्नुभएकाे छ ।

बालेन्द्रले आफ्नाे फेसबुक पेजमा लेख्नुभएकाे छ, ‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’

काठमाण्डाै महानगरमा अहिलेसम्म एक लाख ७१ हजार ८०२ मत गणना हुँदा बालेनले ५५ हजार ७४५ मत प्राप्त गर्नुभएकाे छ । बालेनले आफ्ना निकट प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई २० हजार ३७६ काे फराकिलाे मतान्तरले पछि पार्नुभएकाे छ । सिंहले ३५ हजार ३७१ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत पाउनुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्