Logo

पूर्ण विक्रम शाह –(पल शाह)को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदै

नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह –(पल शाह)को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । उच्च अदालत पोखरामा बिहीबार थुनछेक प्रयोजनका लागि शाहको मुद्दा पेसीमा चढेको हो । एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जानकारी छ।

दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए । उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त मुद्दा दैनिक पेसी सूचीमा राखेको हो ।

पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ । उक्त मुद्दामा शाहका म्यानेजर कृष्ण प्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिएको छ । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइ हुनेछ ।

बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको थुनामै पठाउने आदेशविरुद्ध शाहले गत चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । आज उच्च अदालत पोखराले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा थुनछेक प्रयोजनको आदेश दिनेछ । सुरुमा आफू शाहबाट बलात्कृत भएको भन्दै एक नाबालिगले जाहेरी दिएपछि सरकारवादी बनेर तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तर अदालतमा बकपत्र गर्ने क्रममा भने पीडित भनिएकी बालिकाले आफूलाई अरु कसैले उचालेर मुद्दा दर्ता गराएको र शाहले आफूलाई केही नगरेको बताएकी थिइन् । पीडित बालिका होस्टाइल भएपनि अदालतमा बकपत्र गर्ने क्रममा शाहले अदालतमा पेस गरिएको अडियो टेप आफ्नो भएको भन्दै आफैँविरुद्ध प्रमाण पुग्ने गरी तनहुँ जिल्ला अदालतमा बयान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्