Logo

ओभरसिज राइटबाट मात्र दुई करोड रुपैयाँ कमाइसक्यो

‘केजीएफ-२’को आँधी नेपाली बक्स अफिसमा जसरी आएको थियो, उसैगरी ‘कबड्डी ४’को आउने स्पष्ट देखिएको छ ।क्यूएफएक्स चेनमा मात्र दयाहाङ राई स्टारर फिल्मले एक सय शो पाएको छ । नेपाली प्रदर्शन इतिहासमा कुनै फिल्मले पाएको यो शो अहिलेसम्मकै उच्च होरहेको छ । ‘केजीएफ-२’ले ८० शो थियो ।

प्राप्त तथ्यांकअनुसार बिहीबार मध्यान्हसम्म क्यूएफएक्स चेनमा मात्र २५ हजार टिकट बिक्री भइसकेको छ । यसको टिकट मूल्य ८३ लाख ३० हजार रुपैयाँ हुन आउँछ । मुलुकभर क्यूएफएक्सका ११ वटा आउटलेट छन् । दमौली, विराटनगर, नेपालगञ्ज, विर्तामोेका मल्टिप्लेक्स आउटलेटमा समेत करिब हाउसफुल ट्रेण्ड देखिएको छ ।

मंगलबार बेलुकादेखि क्यूएफएक्सले एड्भान्स टिकट बिक्री थालेको थियो । क्यूएफएक्सपछि मुलुकको अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजका आठ हलबाट बिहीबार मध्यान्हसम्म ५५ लाख रुपैयाँको टिकट बिक्री भइसकेको छ । काठमाडौंको बसपार्कस्थित ल्होत्से मल, बुटवल, चितवन र पोखरामा आईएनआईका आठ हल छन् । ‘नेपाली फिल्ममा यस्तो अभूतपूर्व दृश्य देखिएको थिएन,’ मल्टिप्लेक्स प्रमुख सुरेन्द्र थापाले भने, ‘बिहीबार बेलुकासम्म लगभग सबै शो सोल्डआउट हुनेछन् ।’

दुई ठूला मल्टिप्लेक्स क्यूएफएक्स र आईएनआईमा बिहीबार मध्यान्हसम्म १ करोड ३८ लाख ३० हजार रुपैयाँको टिकट बिक्री भइसकेको छ ।बिग मुभिज, वान सिनेमाज्, एफक्यूब, मिडटाउनजस्ता मल्टिप्लेक्स मात्र होइन, एकल पर्दामा समेत फिल्मको कलेक्सन उच्च हुने अनुमान छ । प्रारम्भिक ट्रेण्ड हेर्दा रामबाबु गुरुङ निर्देशित फिल्मले पहिलो सप्ताहन्तमा चार करोड रुपैयाँ ओपनिङ गर्ने अनुमान छ ।

फिल्मले ओभरसिज राइटबाट मात्र दुई करोड रुपैयाँ कमाइसकेको छ भने डिजिटल राइट जोड्दा लगानी सुनिश्चित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्