Logo

सलमान खानलाई ज्यान मार्ने धम्की

भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी आएको छ ।​ सलमानका बुबा सलिम खान आइतबार बिहान मर्निङ वाक जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए । जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो ।

पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ । यो पत्रसँगै सलमानका पिता सलिमले प्रहरीमा एफआईआर दर्ता गरेका छन् । प्रहरीले एफआईआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ । बिहान साढे ७ देखि ८ को बीचमा उक्त पत्र भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । भारतको अन्तर राज्य गिरोहका नाइके भनेर चिनिने लरेन्स बिश्रोईले पाँच वर्ष अधि जोधपुरस्थित अदालतमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका थिए ।

त्यतिबेला उनी कालो हरिण मारेको मुद्दामा अदालत पुगेका थिए । हत्या, अवैध असुली र फायरिङ लगायत घटनामा संलग्नता रहँदै आएका लरेन्स विश्रोई अहिले जेलमा छन् । सोही समूहले सिद्धु मुसेवालाको हत्याको जिम्मा लिएको छ । गत साता पञ्जाबको मान्सा गाउँमा गायक तथा नेता सिद्धु मुसेवालाको हत्या भएको थियो । उनीमाथि २५–३० गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्