Logo

’कबड्डी ४’ प्रदर्शनमा सिक्किम सरकाले लगायो प्रतिबन्ध

भारतको सिक्किम राज्यमा नेपाली फिल्म ‘कबड्डी ४ः माथि प्रबिन्ध लागेको छ। सिकिम्मका मुख्यमन्त्री प्रेम सिंह तामाङले फिल्ममाथि प्रतिबन्ध लगाएको बताएका छन्। गतसाता सिक्किममा बौद्ध धर्मगुरुहरूले पत्रकार सम्मेलन गर्दै फिल्ममाथि प्रतिबन्ध लगाउन माग गरेका थिए। उनीहरूले प्रदर्शन बन्द नगरेमा सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका थिए। फिल्ममा बौद्ध धर्मालम्बीहरूमाथि मानमर्दन गरिएको भन्दै यसमाथि प्रतिबन्ध लगाउन माग गरिएको थियो।

अन्ततः विवादमा रहेको फिल्मलाई सिक्किम राज्य सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो। फिल्मको प्रतिबन्ध लगाइएकोबारे जानकारी दिँदै मुख्यमन्त्री तामाङले भनेका छन्, ‘सिक्किमका नागरिक तथा विभिन्न संघसंस्था र संगठनको भावनालाई कदर गर्दै राज्य सरकारले सिक्किममा कबड्डी ४ माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। फिल्मको विषयमा रहेको विवाद समाधान नहुँदासम्म फिल्ममाथि प्रतिबन्ध हुनेछ।’

फिल्मलाई नेपालमा पनि प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्दै सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। सिक्किममा फिल्ममाथि भएको प्रतिबन्धसँगै सिनेमा हलमा राम्रो व्यापार गरिरहेको फिल्म विभिन्न विवादमा पनि तानिने देखिएको छ। सुरुवातमा फिल्मकी अभिनेत्री मिरुना मगरले फिल्म हेर्न आएका दर्शकले आफूमाथि गरेको दुरव्र्यहारका कारण हानेको थप्पडले निम्त्याएको विवाद अहिले फिल्म प्रतिबन्धको अवस्थासम्म आइसकेको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्म उनको सफल फिल्म श्रृङख्ला ‘कबड्डी’ कै निरन्तरता हो। फिल्ममा अभिनेत्री मिरुनासँगै दयाहाङ राई, विजय बराल, सौगात मल्ल, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्