Logo

महानगरको नीति तथा कार्यक्रमले करका दायरा बढाउने

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बढीमा ३ अर्ब ७० करोड रुपैयाँको बजेट शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बजेटमार्फत करका दायरा बढ्ने प्रयास गरेको र कर नबढ्ने महानगरको दाबी छ । ‘बजेट बढीमा करिब ३ अर्ब ७० करोडको आउँछ, त्योभन्दा बढ्दैन, बरु घटन सक्छ,’ महानगर प्रमुख नागेश कोइरालाले कान्तिपुरसँग भने, ‘बजेटले साविक करमा एक पैसा पनि बढाउँदैन, करका दायरा बढाउने प्रयास भइरहेको छ ।’ तर त्यसका लागि कार्यपालिका सदस्यहरूमा सहमति हुन नसकेको स्थितिमा पनि केही शीर्षकमा करका दायरा बढने उनले बताए ।

यो बजेट चालु वर्षको तुलनामा करिब ९० करोडले न्यून हुने महानगर स्रोतले बतायो । चालु वर्ष महानगरले संशोधित ४ अर्ब ६० करोडको बजेट परिचालन गर्दा तोकिएको शीर्षकमा आम्दानी गर्न नसक्दा बजेट प्रभावित भएपछि आगामी वर्षको बजेटको आकार घटाएको जनाइएको छ ।महानगरको नीति तथा कार्यक्रमले करका दायरा बढाउने प्रयास गर्दै चालु वर्ष कायम भएका करमा एक रुपैयाँ पनि बढाएको छैन । केही शीर्षकमा कर घटेको पनि छ । यो बजेटले अघिल्ला जनप्रतिनिधिको एक अर्बभन्दा बढी दायित्व पनि धान्नुपर्ने स्थिति रहेको महानगरपालिकाले जनाएको छ ।

बजेटले महानगरका १९ वडालाई ४१ करोड बजेटको व्यवस्था गरेको छ । हरेक वडालाई न्यूनतम २ करोड बजेट छुट्याइएको छ । स्रोतले भन्यो, ‘बढी आम्दानी हुने वडालाई ३ करोडसम्मको बजेट सिलिङ दिइएको छ ।’ महानगरको चालु वर्षको नीति तथा कार्यक्रममा वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख रुपैयाँ व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्