Logo

साढे ८ अर्ब रुपैयाँ बराबरको बजेट पोखरा महानगरपालिकाले ल्याउने

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साढे ८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । महानगरले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब बढी रुपैयाँ बढी ल्याउन लागेको हो । अघिल्लो पटक महानगरले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यसपटक राजश्व तथा योजनामा हेरफेर हुने गरी बजेटको आकार बढाइएको स्रोतले जानकारी दिएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बेलुकी ५ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय छ ।

महानगरले बुधबार नै नीति तथा कार्यक्रम ल्याएको थियो । नीति कार्यक्रममा प्रत्येक आर्थिक वर्षको पहिलो ६ महिनाभित्र ३ हजारलाई रोजगार, ल्यान्डफिल साइट स्थानान्तरण, बसपार्क निर्माण, बिजलुी तार भूमिगत गर्ने लगायत मुख्य योजनाहरु थिए । महानगर स्रोतका अनुसार महानगरले यसपटक पूर्वाधार र पर्यटनलाई जोड दिएर बजेट ल्याउने भएको छ । ‘बजेटको आकार करिब साढे ८ अर्बको वरिपरि हुन्छ । त्यसमा पनि पूर्वाधार विकास र पर्यटनलाई नै फोकस गरेर आउँछ,’ महानगर स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्