Logo

राज्यले एकल महिलालाइ भत्ता दिने बाहेकका अरु कुनै काम गर्न नसकेको : मानव अधिकार एकल महिला समूह

अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा महिलाका लागि मानव अधिकार एकल महिला समूले आयोजना गरेको कार्यक्रममा उनीहरुले राज्यले भत्ता दिने बाहेकका अरु कुनै काम गर्न नसकेको गुनासो गरेका छन् । कार्यक्रममा एकल महिला समूहकी अध्यक्ष कविता पाण्डेले एकल महिलाले बच्चाको नागरिकता बनाउनका लागि पनि मृत्यु भइसकेका श्रीमानको नागरिकता बोकेर जानु पर्ने स्थिति रहेको बताएकी छिन । ‘राज्यले जिउँदो आमा भन्दा मरिसकेको बुवालाई मान्यता दिनुबाट पनि एकल महिलाले भोग्नुपरेको समाजिक आर्थिक सांस्कृतिक तथा मानसिक समस्या कति जटिल छ भन्ने स्पष्ट हुन्छ,’ उनले भनिन् ।

कार्यक्रममा एकल महिला समूहकी कार्यक्रम संयोजक सुमिरा श्रेष्ठले ६० वटा जिल्लामा एकल महिला जिल्ला समिति गठन गरेको जानकारी गराउँदै देशभरका एकल महिलाहरुले फरक फरक समस्या भोगिरहेको बताइन् । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले महिलाका अदृश्य समस्याहरुलाई समाधान गर्नको लागि नीतिगत रुपमा भन्दा पनि पुरुषवादी सोचमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले एकलमहिलाहरुको आर्थिक सशक्तिकरणका लागि नगरपालिकाले स्थापना गरेको एकल महिला कोषलाई थप प्रभावकारी ढंगबाट परिचालन गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष बसनारायण महर्जनले एकल महिला समूहमा आबद्ध महिलाहरु अहिले वडाकै नेतृत्व तहमा पुगेको बताए । उनले आगामी दिनमा आफ्नो वडाले एकल महिलालाई आत्मनिर्भर बनाउन सशक्त ढंगबाट काम गर्ने बताए ।महिलाका लागि मानव अधिकार एकल महिला समूहले २०५२ सालदेखि देशभरका एकलमहिलाको अधिकारलाई समाजिक, आर्थिक, राजनैतिक मुद्दाको रुपमा उठान गर्दै आइरहेको छ । उसले आर्थिक सशक्तिकारका लागि स्थानीय सरकारसँगको समन्वयमा सीपमुलक कार्यहरु समेत गर्दै आईरहेको समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्