Logo

सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको लक्ष्य पूरा हुन पाएन

एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने । १० टोली सहभागि प्रतियोगितामा फाइनल पुग्ने दुई टिम टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको लक्ष्य पूरा हुन पाएन ।
यसअघि नेपालले २०१२ र २०१६ मा गरी दुई पटक टेष्ट राष्ट्रसहितको एसिया कप खेलिसकेको थियो । यस पटक भने टी २० च्याम्पियनसिप प्रतियोगिताबाट दुई टोली एसिया कपमा छनोट हुने व्यवस्था थियो ।

निर्णायक खेलमा वर्षा बाधक

निर्णायक खेलमा प्रदर्शन भन्दा पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन सकेन । युएई विरुद्धको सेमिफाइनल खेल पूरा हुन नपाएपछि नेपाल अभागी बन्यो भने युएई भाग्यमानी ।युएई समूह एमा चारै खेल जित्दै समूह विजेताको हैसियतमा सेमिफाइनल पुगेको थियो । समूहमा तीन खेलमा जित र एक खेलमा हारको नतिजासहित समूहमा दोस्रो भएर नेपाल सेमिफाइनल पुगेको थियो । सेमिफाइनल पूरा नखेले पनि समूह विजेता बनेको आधारमा युएई फाइनल पुग्न सफल भयो । समूह उपविजेता नेपाल खाली हात घर फर्कने भयो ।

अस्मिनाको ५ विकेट

शुक्रबार मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलको टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गरेको थियो । अस्मिना कर्माचार्य एक्लैले ५ विकेट लिएपछि युएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो । फिल्डिङमा केही गल्ती गरे पनि नेपालले युएईलाई अलआउट गर्दै फाइनल पुग्नका लागि आधार तयार गरेको थियो । युएई विरुद्ध अस्मिनाले करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ३.५ ओभरमा जम्मा १० रन खर्चेर ५ विकेट लिएकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता राना मगरले २ विकेट लिइन् ।अस्मिना कर्माचार्यले ५ विकेट लिए पनि नेपालले ब्याटिङ गर्न नपाएपछि उनको प्रदर्शन ओझलमा पर्‍यो । युएईका लागि आठौं नम्बरमा ब्याटिङ गरेकी वैस्नभी महेशले सर्वाधिक १६ रन बनाउदा ओपनर इशा ओझाले १५, कप्तान छाया मुगलले १४ र खुशि शर्माले १२ रन जोडिन् । टी-२० अन्तर्राष्ट्रियममा अस्मिनाको यो व्यक्तिगत उत्कृष्ट बलिङ हो भने नेपालबाट समग्रमा तेस्रो उत्कृष्ट बलिङ हो । यसअघि अन्जली चन्दले १३ औं दक्षिण एसियाली खेलकुदमा माल्दिभ्स विरुद्ध २.१ ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी थिइन् । यस्तै नेरी थापाले २०१९ मा टी-२० विश्वकप एसिया छनोटमा हङकङ विरुद्ध ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिएकी थिइन् । त जेठमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युगान्डा विरुद्धको शृंखलामार्फत नेपालको लागि डेब्यु गरेकी अस्मिनाले अहिलेसम्म ७ खेल खेल्दा १० विकेट लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्