Logo

तोकिएकै समयमा उपस्थित हुन रुलिङ : अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रियसभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरे । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गरेका छन् । उनले सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए । अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गरे ।

उनले भने– ‘माननीय सदस्यहरु, हाम्रो संविधानले सरकारका मन्त्रीहरुलाई सामुहिक र व्यक्तिगत रुपमा संघीय संसदप्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो । लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ । तसर्थ म नेपाल सरकारका मन्त्रीहरुलाई राष्ट्रियसभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।’ उनले लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुने बताए ।

प्रतिक्रिया दिनुहोस्