Logo

कालाजारबाटै एक बालकको मृत्यु

बैतडीमा पनि कालाजारका बिरामी देखिएको जानकारी आएको छ । कालाजारबाटै एक बालकको मृत्युसमेत भएको श्रोतले जनाएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिकाका ३ वर्षका बालक रहेका छन् । योभन्दा अघि यसका बिरामीहरू जिल्लामा १/२ जना देखिने गरे पनि यो वर्षबाट भने एक्कासि बढेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

वैशाखबाट अहिलेसम्म ९ जनामा कालाजार देखिसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताएका छन् । उनका अनुसार जिल्लामा कालाजार यसअघि रहेको थिएन । पछिल्लो समय कालाजार बढ्दै गएर समस्याको रूपमा आउन थालेको उनले बताएका छन्  । जिल्लाका दशरथचन्द नगरपालिका, सुर्नया, दोगडाकेदार र शिवनाथ गाउॅपालिकामा कालाजार देखिएको हो । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमा कालाजार देखिएको हो । कालाजार देखिएका प्रत्येक व्यक्तिको परिवारसँगै समुदायका २५ जनामा परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानाकारी दिएका छन् । यो परीक्षणमा भने सबै नेगेटिभ देखिएका उनले बताएका छन्  ।

यस्तै, जिल्लाका ३ पालिका मलेरियाको पनि उच्च जोखिममा छन् । तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिका मलेरियाको उच्च जोखीममा छन् । पुर्चौडी नगरपालिकाका एक जनामा पनि मलेरिया देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अबको केही हप्तापछि जिल्लाका अस्पतालसॅंगै अन्य स्वास्थ्य संस्थाहरूमा मलेरियाका बिरामी बढ्ने सिजन भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त बताउछन् । उनका अनुसार आजभोली भने बिरामीहरू आएका छैनन् । अब विस्तारै देखिने समय हुन थालेको छ ।

मलेरियाको जोखिम भएको तल्लोस्वराड क्षेत्रमा झुल वितरणसँगै औषधि छर्किनेलगायतका रोकथामका उपाय हुने गरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । स्वास्थ्य कार्यालय र पालिकाहरूले कार्यक्रम सहयोग र समन्वय गर्ने गरेका उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्