Logo

एक किशोरीको पेटबाट शल्यक्रियाविना नै निकालियो चम्चा

कहिलेकाहीँ घटनाहरु अचम्म-अचम्मका भइदिन्छन् । सुन्दै आङ सिरिङ्ग हुने । पत्याउनै नसकिने । यस्तै पत्याउन नसकिने घटना थापाथलीस्थित नर्भिक अस्पतालमा देखिएकाे छ । आमाशयमा चम्चा अड्किएकी एक जना किशाेरी अस्पतालमा भर्ना भइन् । ती किशाेरीले भुलवश खानाको सट्टा चम्चा नै निलेपछि उक्त चम्चा पेटमा गएर बसेकाे थियाे । अब निकाल्ने उपाय के ? सबैले सोचिन्छ- अप्रेसन । तर, नर्भिकका चिकित्सकहरुले विनाशल्यक्रिया उक्त चम्चा निकालेका छन्।

आमाशयमा गएर अड्किएको चम्चा शल्यक्रिया नै नगरी निकाल्न सफल भएका हुन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले इण्डोस्कोपी गरी आमाशयबाट चम्चा निकाल्न सफल भएको हो । अस्पतालका अनुसार काठमाडौंकी १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेर अस्पताल भर्ना भएकी थिइन् । आमाशयमा गएर चम्चा अड्किनु बिरामीका लागि नभई चिकित्सकका लागि पनि एकदमै जटिल समस्या हो । तर, उक्त जटिल समस्यालाई डा. कुँवरको टोलीले सरल रुपमा समाधान गरिदिएका छन् । मतलब सर्प पनि मर्ने लौरो पनि नभाँचिने । डा. कुँवरको टिमलाइ उक्त चम्चा निकाल्न ४५ मिनेट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्