Logo

अष्ट्रेलियालाई नेपालमा लगानी गर्न चेम्बरको आग्रह

असार १४ : नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ। नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवम् साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्। नेपाल र अष्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताएका छन् ।

उनले जडिबुटी एवम् खानीजन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरेका छन् । ‘अष्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ। तर नेपालमा लगानी निकै नगन्य मात्रामा छ। भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जल विद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु,’ अध्यक्ष मल्लले भने।

वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्कलाई बताएका छन् । जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताएका छन् । नेपालबाट वार्षिक ५० हजार विद्यार्थीहरू अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविष्यकालागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

‘अष्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारतपछि नेपाल तेस्रो स्थानमा छ। हामी अझै यसको सुधारको पक्षमा छौं,’ राजदूत वोल्कले भने। नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्