Logo

कति घण्टा सुत्नुपर्छ ?अध्ययन यसो भन्छ

धेरै मानिसलाई आफु सुत्नुपर्ने जति समय सुत्न नपाएको कुरा त जिउको थकानबाटै थाहा हुन्छ तर खासमा कति समयसम्म सुत्नुपर्ने हो भन्ने कुराको जानकारी भने हुँदैन । वास्तवमा कम सुत्नु वा आवश्यकता भन्दा बढि समयसम्म सुत्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् ।

अमेरिकामा गरिएको एक अनुसन्धानले कुन उमेरको व्यक्ति कति समयसम्म सुत्नु आवश्यक हुन्छ ? भन्ने तथ्य पत्ता लगाएको छ ।

अस्तव्यस्त तथा अनियमित जिवनशैली, मदिरापान, अत्यधिक कफी वा इनर्जी डि्रंक्सको सेवन यस्ता चिजहरु हुन् जसले तपाइँको दिनचर्यालाई प्रभावित गर्नसक्छ ।

अमेरिकाको भर्जिनियास्थित एर्लिंगटनमा रहेको च्यारिटी नेसनल स्लिप फाउण्डेसनका अनुसार व्यक्तिको जिवनशैली उसको निद्राको आवश्यकता महसुस गर्ने आधार हो । मानिसको उमेर अनुसार उसका लागि कति निद्रा आवश्यक पर्छ भन्ने कुराको निर्धारण हुन्छ । व्यक्तिको उमेर अनुसार निद्राको समय यस्तो हुन्छ-
नवजान शिशु (जन्मदेखि ३ महिनासम्म) – नवजात शिशुलाई हरेक दिन १४ देखि १७ घण्टाको निद्रा आवश्यक पर्छ । यद्यपि ११ देखि १३ घण्टासम्म मस्तसँग निद्रा आएमा पनि पर्याप्त हुन्छ । नवजात शिशुलाई दिनमा १९ घण्टाभन्दा बढि सुताउनु राम्रो मानिँदैन ।

शिशु (४ देखि ११ महिना)- शिशुका लागि दिनमा १२ देखि १५ घण्टाको निद्रा आवश्यक हुन्छ । यद्यपि घटीमा १० घण्टासम्म गहिरो निद्रा आएमा पनि पर्याप्त हुन्छ । शिशुहरुका लागि १८ घण्टाभन्दा बढि निद्रा राम्रो हुँदैन ।

एक देखि दुइ वर्ष सम्मका बालबालिका- यो उमेरका बालबालिकाका लागि दिनमा ११ देखि १४ घण्टाको निद्रा आवश्यक हुन्छ । तर घटिमा ९ र बढिमा १६ घण्टाकेा सीमा भने कटाउनु लाभदायक मानिँदैन ।

स्कुल जानुअघिको उमेर (३ देखि ५ वर्ष)- यो उमेरका बच्चाहरुका लागि दिनमा १० देखि १३ घण्टासम्मको निद्रा पर्याप्त हुन्छ । दिनमा ८ घण्टाभन्दा कम र १४ घण्टाभन्दा बढि समयसम्म सुताउँदा त्यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नसक्छ ।

स्कुल जाने उमेरका बच्चाबच्ची (६ देखि १३ वर्ष)- यो उमेरका बच्चाहरुको लागि ९ देखि ११ घण्टासम्मको निद्रा आवश्यक हुन्छ । ७ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि समयसम्मको निद्रा राम्रो हुँदैन ।

किशोरावस्था (१४ देखि १७ वर्ष)- यो उमेरका किशोर किशोरीहरुको लागि दिनमा ८ देखि १० घण्टासम्मको निद्रा आवश्यक हुन्छ । दिनमा ७ घण्टाभन्दा कम सुत्नु वा ११ घण्टाभन्दा बढि सुत्नु फाइदाजनक हुँदैन ।

युवा (१८ देखि २५ वर्ष)- यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । ६ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि सुत्नु भने लाभकारी हुँदैन ।
वयस्क-२६ देखि ६४ वर्ष)- यो उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ ।

वृद्ध (६५ वर्ष माथि)- यो उमेरका मानिसहरु दिनमा ७-८ घण्टासम्म सुत्नु राम्रो हुन्छ । निद्राको समय ५ घण्टाभन्दा कम हुनु वा ९ घण्टाभन्दा बढि समयसम्म सुत्नु लाभदायक हुँदैन ।

मीठो निद्राका लागि के गर्ने ?
· नियमित समयमा सुत्ने र उठ्ने गर्नुहोस्, चाहे विदाको दिन होस् वा व्यस्त कामकाज भएको दिन किन नहोस् ।
· समयमै सुत्ने बानी बसाल्नुहोस् ।
· हरेक दिन व्यायाम गर्नुहोस् ।
· बेडरुममा तापक्रम, ध्वनी तथा प्रकाशको सन्तुलन कायम राख्नुहोस् ।
· आरामदायी बिछौना तथा सिरानीको बन्दोवस्त गर्नुहोस् ।
· सुत्ने बेलामा मदिरा वा कफी पिउने नगर्नुहोस् ।
· सुत्नका लागि ओछ्यानमा पल्टिएपछि रेडियो, टिभी, मोबाइल जस्ता उपकरण बन्द गरिहाल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्