Logo

सरकारले देशभर बजार अनुगमन गर्ने

काठमाडौं : शनिबार इन्धनको मूल्य घटेको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले भनेका थिए, पेट्रोल र डिजेलको मूल्य घटेपछि बजार मूल्य पनि स्वतः घट्छ । सँगसँगै उनले बजार अनुगमनको काम पनि अघि बढाउने बताएका थिए ।

बुधबार पनि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले केही समयपछि नतिजा देखिने गरी महँगीविरुद्ध बजार हस्तक्षेप हुने बताए ।

इन्धनको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय कारणहरुले खाद्यान्न, औषधि र सेवा क्षेत्रको मूल्य अचाक्ली बढेको छ । तर शनिबार पेट्रोलमा २० र डिजेल र मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटेपछि सरकार बजार भाउ घटाउन हस्तक्षेप गर्ने योजनामा छ ।

यसका लागि राज्यका अधिकार प्राप्त सबै निकाय आफ्नो ठाउँबाट परिचालित हुने उनको दाबी छ । यसका लागि मन्त्रालयले पूर्वतयारी थालेको पनि बडूले बताए ।

प्रायः बजार अनुगमन आकस्मिक हुन्छ, खबर गरेर हुने अनुगमन प्रभावकारी नहुने भएकाले सरकारले योजना बनाए पनि गोप्य राखेर बजार अनुगमन गरिन्छ ।

तर, वाणिज्य मन्त्रालयले महँगीविरुद्ध देशव्यापी बजार अनुमगन गर्ने योजना घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्