Logo

कटारीको तिल्केवासी भन्छन् – जतिखेर पनि पहिराले बगाउँन सक्छ

उदयपुर : उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् ।

तिल्केका मनकुमारी कार्की, लिबहादुर थापासहितका स्थानीयवासी भन्छन्, ‘गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसक्यो, जतिखेर पनि आफूहरूको गाउँलाई पहिराले बगाउन सक्छ, आफूहरू उच्च जोखिममा छौँ ।’

निरन्तर वर्षाका कारण तिल्केगाउँको माथिल्लो डाँडा क्षेत्रबाट तल गाउँसम्म २०० मिटरभन्दा बढी जमिन भासिँदै गइरहेको र जमिन चिरासमेत पर्न थालेका कारण जतिखेर जुनसुकै बेला पनि पहिराले गाउँ लान सक्ने अवस्था आएको अर्का स्थानीय दुर्गाबहादुर थापाले बताए ।

कटारी नपा–१० का वडाध्यक्ष क्षेत्रहादुर खड्काका अनुसार तिल्के गाउँ पहिराको उच्च जोखिममा परिसकेका कारण अहिले यसको समाधानमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

अहिले गाउँलेहरू दिनमा गाउँघरमा रहे पनि रातिको समयमा पहिराले गाउँ जतिखेर पनि बगाउन सक्ने भन्दै रातभरि ननिदाइ रात काट्न बाध्य हुनुपरेको स्थानीय मनकुमारी कार्की बताए ।

गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान र धनमाल खतरामा रहेको तिल्केवासी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्