Logo

एनओसीले यथाशीघ्र मूल्य समायोजन नगरे अखिल (क्रान्तिकारी) निर्णायक आन्दोलनमा उत्रने प्रवक्ता उपदेश यादवले बताए ।

विज्ञप्ति

 

सरकार र सरकार नियन्त्रित नेपाल आयल निगमले यस वर्षमा मात्रै ७ पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर लगातार रूपमा जनताको ढाड सेक्ने काम गरेको छ । विगत ३ महिनामा मात्रै १ हप्ता, १० दिनको फरक पारेर पटक पटक मूल्यवृद्धि गरेर जनताको चुलो चौकोमै वज्रप्रहार गर्ने कार्य गरेको सबैलाई जानकारी नै छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउँदा यहाँ तत्काल बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला यहाँ नघटाउने प्रवृत्ति विगतदेखि नै देखिँदै आएको छ । हामीले पटक पटक नेपाल आयल निगममा ब्याप्त भष्ट्रचार, अनियमितता र चुहावट रोक्ने तर्फ ध्यानाकर्षण गराउँदै आएका छौं । तर यसमा पटक्कै ध्यान दिइएको छैन । दुई रङ्गको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियत पूर्ण दरमा ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनमा लाने कुनै पहल भएको छैन ।

उल्टै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्थामा पनि नेपाल आयल निगमले जनतालाई महँगीको भारी बोकाउन लागि परेको देखिन्छ । इंडियन ऑयल कॉर्पोरेशन लिमिटेडले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रति लिटर तथा खाना पकाउने एलपी ग्याँसमा ७७ रुपैयाँ प्रति सिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन । मूल्य वृद्धि गर्न एक सेकेन्ड नकुर्ने तर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा कानमा तेल हालेर सुत्ने जस्तो हर्कत अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपूर्ण रहेको छ ।

जनताको करमा टिकेको सरकार केवल नाफा निकाल्ने व्यापारी मात्र हुन किमार्थ सक्दैन । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा गरिब जनताको चुल्हो बल्न कठिन भइरहेको अवस्था छ । अत्यावश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिएको अवस्थामा यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गर्न चाहन्छौ, अन्यथा अनेरास्ववियू (क्रान्तिकारी) वैज्ञानिक तथा स्वचालित मूल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ । संयोजक पवन कार्की

 

प्रतिक्रिया दिनुहोस्