Logo

स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनै मिल्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताए ।

शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै नरहने धारणा राखे । स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु भएको भन्दै उनले यो पनि सामाजिक स्वास्थ्य सुरक्षाको एउटा विषय भएको बताएका छन् ।

‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस (सबैसम्म पहुँच) हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेट (स्वास्थ्य बीमामा निजी क्षेत्र) लाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो’ उनले भने । महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । महामन्त्री थापाले सरकारले स्वास्थ्य प्रणालीको सुधारलाई अस्पताल निर्माणसँग मात्र जोडेको टिप्पणी गरे ।

‘हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौं भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौं भने हामीले थेग्नै सक्दैनौं’ थापाले भने, ‘सरकारले खाली कति वटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो । हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ । त्यसबाट बाहिर निस्किनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्