Logo

भाइरल ज्वरोका बिरामी बढेपछि लिखुका विद्यालय ४ दिन बन्द

शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरो बढेपछि ओखलढुंगाको लिखु गाउँपालिकाले ४ दिन विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत विपना श्रेष्ठले सोमबार एक सूचना जारी गर्दै साउन ३० देखि भदौ २ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने जनाएकी हुन् ।

सूचनाअनुसार गाउँपालिकाभित्र सञ्चालित अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुमा भाइरल ज्वरोका कारण नियमित पठनपाठन गर्न असहज भएको छ ।

साथै भदौ ५ देखि ९ गतेसम्म ५ वर्ष पूरा भई १२ ननाघेका विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । उक्त खोपबाट भाइरल ज्वरोका कारण बिरामी भएका विद्यार्थीहरु बञ्चित हुने भन्दै गाउँपालिकाले साउन ३० देखि भदौ २ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने सूचित गरेको छ ।

गाउँपालिकाले भाइरल ज्वरो भएका विद्यार्थीहरुलाई घाममा नहिँडाइ औषधि खुवाएर आराम गराउने अभिभावक एवं शिक्षकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्