Logo

बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने आर्यनको फिल्म ‘सायरा’

अभिनेता आर्यन सिग्देलको अभिनय रहने फिल्म ‘सायरा’लाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन्।

निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार सम्झौता भएको हो। निर्माता परियारले मुम्बई पुगेर निर्देशक विशालसँग सम्झौता गरेका हुन्।

निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्रालीको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैं ताका फिल्म छायांकन हुने बताएका छन् । ‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनु भयो। बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ,’ निर्माता परियारले भने।

निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताएका छन् । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ। सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौं। नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न तयार भएको हुँ’, उनले भने।

निर्देशक देसाईले ‘वीरगति’ र ‘ढोलकी’ नामक फिल्म निर्देशन गरिसकेका छन्। यस्तै उनले ‘कामिनी दामिनी’ नामक टिभी सिरियल समेत निर्देशन गरेका छन्।

उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन्। ‘अमर प्रेम’ मार्फत उनले अभिनय यात्रा सुरु गरेका थिए।

सोसल ड्रामा र लभ स्टोरीमा तयार हुने फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने बताइएको छ। याे फिल्ममा हालसम्म अभिनेता आर्यन मात्र अनुबन्धित भएका छन्। अन्य कलाकारकाे बारेमा केही दिनपछि जानकारी दिने निर्माता परियारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्