Logo

कारागारभित्र फैलियो कोरोना, बैतडीमा १६ जनामा संक्रमण पुष्टि

जिल्ला कारागार बैतडीभित्र कोरोना संक्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ४ र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा संक्रमण देखिएको हो ।

कारागार प्रमुख भण्डारीले भने, ‘कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधवार पीसीआर परीक्षण गरेका थियौँ । उनीहरूमा संक्रमण पुष्टि भएपछि अन्य ८९ जनामा पनि एन्टिजेन परीक्षण गर्दा बिहीवार थप १२ जनामा संक्रमण देखापरेको छ ।’

संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या समस्या भएको छ । क्षमताभन्दा चारगुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेसनमा राख्न नसकिएको उल्लेख गर्दै उनले भने, ‘२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना थिए, उनीहरूकै व्यवस्थापन गर्न निकै समस्या रहेका बेला कोरोना फैलिएपछि झनै समस्या भएको छ ।’

कारागारभित्र कोरोना संक्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । संक्रमणको थप जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्य बन्द गरिएको हो । क्षमताभन्दा झण्डै चारगुणा कैदी हुँदा ठाउँ अभावले बसाइँ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ । विसं २०४० मा निर्माण भएको कारागार मर्मत र पुनर्निर्माण नहुँदा जीर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्