Logo

कर्मचारीका माग पूरा गर्न विद्यार्थीको पठनपाठन बन्द

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पूर्वसूचना नदिई आइतबार विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलनका कारण पठनपाठन बन्द गरिएपनि विद्यार्थीलाई पूर्वजानकारी दिइएको थिएन । जसका कारण अधिकांश विद्यार्थीहरु पूर्वनिर्धारित समयमै स्कुल पुगेपछि मात्रै विद्यालय बन्द भएको जानकारी पाएर घरमा फर्केका छन् ।

विद्यालयको गम्भीर लापरबाहीले आन्तरिक परीक्षा चलेका विद्यालयमा समेत विद्यार्थीलाई पूर्वसूचना नदिई विद्यार्थी स्कुल पुगेका थिए । बुटवलको नबिन औद्योगिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विपना घर्तीमगर विद्यालय बन्दको कुनै सूचना नभएकाले आन्तरिक परीक्षा दिन विद्यालय परिसरमा पुगेपछि मात्रै बन्द भएर फर्केको बताइन् ।

विद्यालयका शिक्षक हेमा शर्माले कर्मचारीका कारणले विद्यालय बन्द भएको र सोमबारको कक्षा तथा परीक्षा के हुने भन्ने विषयमा टुंगो नलागेको बताइन् ।

नेपाल विद्यालय कर्मचारी परिषदले भदौ १२ देखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द भएपनि विद्यालयले विद्यार्थीहरुलाई कुनै सूचना नदिएका कारण अन्यौलमा परेका छन् ।

परिषदले सरकार समक्ष विभिन्न ८ बुँदे माग राख्दै आएकोमा सरकारले माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालय बन्द गरिएको हो । नेपाल कर्मचारी परिषदले आफूहरुले राखेको माग सम्बोधन गर्नका लागि दबाबस्वरुप भदौ १ गते बाट नै बिभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।

विभिन्न विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा गराउन विद्यार्थीको पठनपाठन रोक्ने विषय गम्भीर भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्