Logo

‘द भ्वाइस’ जितेर नेपाल घुम्न आउन निम्तोसहित बालेनले दिए परिजितालाई शुभकामना

द भ्वाइसको अमेरिकी संस्करणमा प्रतिस्पर्धा गरिरहेकी नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलालाई काठमाडौं महानगर प्रमुख तथा गायक बालेन साहसहितका सेलिब्रिटीले शुभकामना दिएका छन् । बालेन र परिजिताबीच केही दिनअघि भर्चुअल मिटिङ भएको थियो । उक्त अवसरमा ‘नेपहपको श्रीपेच’का निर्णायक समेत रहेका बालेनले परिजितालाई जितको शुभकामना दिए ।

परिजिताको प्रस्तुतिबाट नेपालले गर्व गरेको भन्दै मेयर बालेनले यसबाट नेपाली सांगीतिक क्षेत्र र संस्कृतिलाई प्रवर्द्धन गर्न मद्दत पुगेको बताएका थिए । परिजिताले आफूले बालेनको गीत ‘सावेज’ सुनेको बताइन् । बालेनले आफू अहिले पनि संगीत क्षेत्रमै आबद्ध रहेको बताए । समय नमिलेर अहिले छायांकन गर्न नपाएको र समय मिलेपछि नयाँ हिपहप गीतलाई बजारमा ल्याउने कुरा बालेनले बताएका छन् ।

बालेनले परिजितालाई नेपाली बोल्नुहुन्छ भनेर सोधेका थिए भने जवाफमा परिजिताले आफ्नो पहिलो भाषा नेपाली नै भएको भनेर जवाफ दिएकी थिइन् । द भ्वाइसपछि समय मिलाएर नेपाल घुम्न आउने परिजिताले जानकारी दिएकी थिइन् । यसैबीच, परिजितालाई हलिउड फेसन डिजाइनर प्रबल गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गायक दीपक बज्राचार्य, गायिका अभया सुब्बा लगायतले समेत शुभकामना दिएका छन् ।

द भ्वाइसको अमेरिकी संस्करणमा आज (सोमबार)देखि लाइभ शो सुरु हुँदैछ, जहाँ परिजिताले पनि प्रस्तुति दिंदैछिन् ।

प्रतिक्रिया दिनुहोस्