Logo

हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी

ताप्लेजुङ – ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो ।

भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो । फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट चार दिनको समय लाग्छ ।

यसअघि सो ठाउँमा आज सम्पन्न निर्वाचन गराउन गएको कर्मचारीको टोली चार दिनमा मात्र पुगेको थियो । यी चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालयसँग समन्वय भएको जनाइएको छ । निर्वाचन सकिएलगत्तै ल्याउन साँझको समय पर्ने भएकाले सोमबार ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

करिब चार हजार दुई सय मिटरको उचाइमा पर्ने याङ्माको मतदान केन्द्रमा ६१ मतदाता छन् । यहाँ आइतबार भएको निर्वाचनमा १२ मत खसेको बताइएको छ । यहाँ करिब ४१ प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क भने सङ्कलन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । जम्मा एक सय २३ वटा मतदान केन्द्रबाट निर्धारित समयमा नै मतदान सुरु भएको थियो ।

प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा क्षेत्र (१) मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यस्तै प्रदशसभा क्षेत्र (२) मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट नेपाली कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । सङ्घ र प्रदेशमा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्

प्रतिक्रिया दिनुहोस्