Logo

विश्वकप बाट बाहिरिएपछी नेयमर ‘मानसिक रूपमा विक्षिप्त’

ब्राजिल विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेयमरले आफू ‘मानसिक रूपमा विक्षिप्त’ हुन पुगेको बताएका छन् । आफ्नो खेल जीवनमा भोगेका हारहरूमा क्रोएसियासँगको हारले सबैभन्दा बढी पीडा दिएको नेयमरले जनाए ।

 

शुक्रबार भएको खेलमा ३० वर्षे नेयमरले उत्कृष्ट एकल प्रदर्शनीमा गोल गर्दै ब्राजिललाई अतिरिक्त समयमा अग्रता दिलाएका थिए । यो गोलसँगै उनले ब्राजिलका लागि ७७ गोल गरेर पेलेको कीर्तिमानलाई बराबरी गरे । निर्धारित ९० मिनेट कुनै गोल हुन नसकेको खेलमा क्रोएसियाले १ सय १७ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याएको थियो, जुन खेलमा क्रोएसियाले विपक्षी पोस्टमा गरेको पहिलो आक्रमण थियो ।

पछि क्रोएसियाले खेल पेनाल्टी सुटआउटमा ४–२ ले जितेको थियो । नेयमर पेनाल्टी प्रहार गर्न आएका थिएनन् । प्रतियोगिताअघि दाबेदार मानिएको ब्राजिल सेमिफाइनल पनि पुग्न सकेन । २००२ यता ब्राजिलले विश्वकप जित्न सकेको छैन । २०१४ मा आफैंले आयोजना गरेको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।

‘म मानसिक रूपमा विक्षिप्त छु । यो निश्चय पनि यस्तो हार हो, जसको सबैभन्दा धेरै पीडा छ । जसका कारण खेल सकिएको १० मिनेटपछि मलाई पक्षाघात जस्तै बनाएको थियो । मेरो आँसु रोकिएको थिएन,’ नेयमरले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘दुर्भाग्य रूपमा भन्नुपर्दा यो हारले लामो समयसम्म पोलिरहनेछ ।’ क्वाटरफाइनलमा हारलगत्तै नेयमरले ब्राजिलबाट अब फेरि खेल्ने सम्भावना कम रहेको जनाएका थिए । तर पेलेले उनलाई ‘हामीलाई प्रेरित गरिरहनू’ भन्दै ब्राजिलबाट खेलिरहन सुझाएका छन् ।

निरन्तर अस्वस्थ रहँदै आएका ८२ वर्षे पेलेले इन्स्टाग्राममा ब्राजिलको राष्ट्रिय टोलीबाट निरन्तर खेल्न अपेक्षा राखेको जनाएका थिए । ब्राजिलका लागि खेल्दा जुन सम्मान हुन्छ त्यो गोल गर्दै पाएको सफलतामा नहुने पेलेले जनाएका थिए । ‘देशको प्रतिनिधित्व गर्ने खुसीभन्दा ठूलो अरू केही छैन,’ पेलेले लेखेका छन्, ‘म अहिले ८२ वर्षको भएँ, मैले यहाँसम्म पुग्न तिमीलाई कुनै हिसाबमा प्रेरित गरें होला, तिम्रो लेगेसी यहाँभन्दा अगाडि जानुपर्छ ।’

‘हामीलाई प्रेरित गर्नु, जति खेर तिमीले गोल गर्नेछौं, म खुसीले हावामा मुट्ठी उठाउनेछु, मैले यसअघिका खेल जति हेरें त्यसमा यस्तै गरेको छु,’ ब्राजिलबाट आफूले गोल गरेको कीर्तिमान बराबरी गरेकामा पेलेले नेयमरलाई बधाई पनि दिए । ‘मैले बुझेअनुसार जति समय बढ्छ, त्यति नै लेगेसी बढ्दै जान्छ । मेरो कीर्तिमान ५० वर्ष रह्यो ।’

 

नेयमरले २०१० यता १ सय २४ खेलमा ब्राजिलबाट ७७ गोल गरेका हुन् । पेलेले ९२ खेलमै यो उपलब्धि हात पारेका थिए । पेलेले १९५८, १९६२ र १९७० मा गरी तीन विश्वकप जिते । नेयमरले अझै विश्वकप जित्न सकेका छैनन् । नेयमरले कतार विश्वकपमा २ गोल गर्नुका साथै १ गोलका लागि पास उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्