Logo

गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता (हेर्नुहोस भिडियो सहित)

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अव गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताउनुभएको हो ।

उहाँले विदेशमा भएका नेपालीहरूको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताउनुभयो । नेपालमा लगानीका लागि गैर आवासीय नेपालीहरूको कानुनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उहाँले बताउनुभयो । उहाँले नागरिकताका विषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुङ्गिने जिकिर गर्नुभयो ।

भेटवार्तापछि सङ्घका अध्यक्ष कुल आचार्य गैरआवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्या लगायत नेपालको विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको र समस्यालाई समाधान गर्ने प्रतिबद्धता गृहमन्त्रीले व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।

सङ्घले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा सङ्घले गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र पनि बुझाएको थियो । गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

प्रतिक्रिया दिनुहोस्